राजनीति

राष्ट्रपति बन्ने चर्चाबारे बाबुरामको जवाफ- गाउँमा आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति बन्ने आकाङ्क्षा राखेको भन्ने चर्चाको खण्डन गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले आफूले पद र शक्तिको आकाङ्क्षा कहिल्यै नराखेको र भविष्यमा पनि नराख्ने बताए।

मनमा कताकता राष्ट्रपति बन्न पाए हुन्थ्यो भन्ने छ कि भनी सोधिएको प्रश्नमा भट्टराईले दुःख व्यक्त गरे।

‘यस्तो प्रश्न गर्दा मलाई दुःख लाग्छ,’ उनले भने, ‘म गाउँको किसानको छोरो हुँ, आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। कसैको खल्तीको एक पैसा वा एउटा कलम चोर्‍यो भन्ने मान्छे अहिले पनि छैनन्। म पद र शक्तिमा कहिल्यै लागिनँ, अहिले पनि आकाङ्क्षा राखेको छैन र भोलि पनि राख्दिनँ।’

मुलुकको हितमा नयाँ संरचनाको सुझाव दिँदा मान्छेहरूले सधैँ पदकै लोभसँग जोडेर हेर्ने गरेकोप्रति उनले असन्तुष्टि पोखे। भूकम्पपछि जापान र इन्डोनेसियाको अनुभव अध्ययन गरेर बलियो पुनर्निर्माण प्राधिकरण बनाउन सुझाव दिँदा पनि आफू अध्यक्ष बन्न खोजेको भनेर गलत प्रचार गरिएको उनले स्मरण गरे। आर्थिक विकास प्राधिकरण बनाउने प्रस्ताव पनि आफूले नेतृत्व गर्न नभई जोकोहीले चलाएर देशलाई सही दिशामा लैजाओस् भन्ने उद्देश्यले राखेको उनले सुनाए।

सक्रिय दलीय राजनीतिबाट किन टाढिएको भन्ने प्रश्नमा भट्टराईले राजनीति सत्तामुखी र रूपान्तरणकारी गरी दुई प्रकारको हुने व्याख्या गरे। दुई वर्षअघि सङ्गठित पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त भए पनि आफू रूपान्तरणकारी राजनीतिमा निरन्तर क्रियाशील रहेको उनले बताए।

सक्रिय राजनीतिबाट पाखा लाग्न खोजेको भन्ने शब्दप्रति असहमति जनाउँदै उनले सचेत प्राणीले बाँचुन्जेल आफ्नो ब्रह्मले देखेको काम गरिरहने तर्क गरे।

‘मेरो जीवनको एउटा कालखण्ड दुनियाँ बुझ्ने थियो, अर्को कालखण्ड बदल्नेमा लाग्यो,’ उनले भने, ‘अहिले ७० वर्ष नाघिसकेँ। अबको कालखण्ड फेरि नयाँ ढङ्गले दुनियाँ बुझेर युवा पुस्तामा अनुभव हस्तान्तरण गर्ने हो। म आफ्नै रोडम्यापमा हिँडिरहेको छु।’

आफ्ना समकक्षी नेताहरू अझै पार्टीको कार्यकारी नेतृत्वमै रहिरहेको सन्दर्भमा भट्टराईले समयको पदचाप र माग बुझेर बेलैमा भूमिका बदल्न सुझाव दिए। उनले कसैलाई राजनीतिबाट सन्यास लिन नभनेको, किनकि आफूले पनि सन्यास नलिएको स्पष्ट पारे।

‘विचार र सरसल्लाह दिएर रूपान्तरणकारी राजनीतिमा योगदान गर्न सकिन्छ,’ उनले भने, ‘तर, कार्यकारी भूमिकामै सधैँ बसिरहनु उपयुक्त हुँदैन। विवेक प्रयोग गरेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु र उनीहरूलाई सघाउनु नै आजको युगको सही बोध हो।’

विगतका सहकर्मी र अन्य दलका नेताहरूसँगको सम्बन्धबारे बोल्दै भट्टराईले राजनीतिलाई लामो यात्रासँग तुलना गरे। काठमाडौंबाट महाकालीको यात्रा गर्दा मुग्लिङसम्म कोही, नारायणगढसम्म कोही र त्यसपछि अर्कै यात्री सहयात्री बनेजस्तै राजनीतिक कालखण्डअनुसार सहयात्री फेरिने उल्लेख गर्दै उनले आफ्नो कसैप्रति दुश्मनी नरहेको बताए।

नेपाल किन अल्पविकसित भयो र कसरी विकसित बनाउने भन्ने अभियानकै लागि आफू राजनीतिमा आएको बताउँदै उनले लोकतन्त्र र अधिकारको चरण पूरा भइसकेकाले अब तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए।

स्पष्ट भिजन र योजनासहित काम गरे १०-१५ वर्षमा विकासको मध्यम स्तरमा र २०-२५ वर्षमा नेपाललाई समृद्ध बनाउन सकिने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: ९ मंसिर २०८३ २०:५७ बुधबार