पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले सुरु गरेको वैकल्पिक राजनीतिको अभियानअन्तर्गत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो हाँगोका रूपमा उदाएको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले कम्युनिस्ट दलहरू भने समयअनुसार बदलिन नसकेर जड ढङ्गले अड्किँदा खुम्चिन पुगेको विश्लेषण गरे।
संविधान जारी भएपछि युग फेरिएकाले पुरानो सोच र पार्टीले नपुग्ने देखेर आफूले करिब १२ वर्षअघि नै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको बीउ रोपेको भट्टराईले स्मरण गरे।
विचार एउटै व्यक्तिमा सीमित नरही विभिन्न रूपमा अघि बढ्ने उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामा उदाएका विभिन्न वैकल्पिक हाँगामध्ये रास्वपा अहिले सबैभन्दा ठूलो शक्तिका रूपमा आएको बताए।
जेनजी विद्रोहपछिको निर्वाचनअघि आफूले नयाँ शक्तिहरूलाई एकताबद्ध हुन सहजीकरण गरेको र अन्ततः रास्वपावरिपरि केन्द्रित भएर नयाँ शक्ति अघि बढ्नुलाई आफूले सोचेअनुरूपकै परिणाम ठानेको उनले सुनाए।
रास्वपा र नयाँ वैकल्पिक शक्तिहरूप्रति आफ्नो सद्भाव र समर्थन रहेको सुनाउँदै उनले गम्भीर अर्थराजनीतिक र भूराजनीतिक चुनौती बाँकी रहेकाले सन्तुष्ट भएर नबस्न सचेत गराए।
पछिल्लो समय वामपन्थी तथा कम्युनिस्ट दलहरू कमजोर बन्दै जानुको कारण खोतल्दै भट्टराईले समयअनुसार वामपन्थ र दक्षिणपन्थको रूप फेरिने बताए। समाजको शक्ति सम्बन्ध र राष्ट्रिय-अन्तर्राष्ट्रिय आयाम बदलिएसँगै पार्टीका नीतिहरू रूपान्तरण हुनुपर्ने उनको धारणा छ।
कम्युनिस्ट नेताहरू असाध्यै जड ढङ्गले अड्किएर बसेको र समयानुकूल आफ्नो विचार, सिद्धान्त, नीति-कार्यक्रम तथा कार्यशैली बदल्न नसकेको उनले औँल्याए। ‘आज दलको हैसियत खुम्चिनु कुनै व्यक्तिको निजी समस्या मात्र होइन, विचार र नीति-कार्यक्रमकै समस्या हो,’ उनले भने।
२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलका लागि राष्ट्रिय सभागृह पुगेर पनि पछि अलग हुनुको कारणसमेत उनले खुलाए।
पुरानो कम्युनिस्ट आन्दोलनको युग सकिएकाले समाजवादी कार्यक्रममा रूपान्तरण हुने सहमतिमा आफू सामेल भएको, तर ती दलहरू फेरि पुरानै कम्युनिस्ट एकताको बाटोमा फर्किएपछि वैचारिक मतभेदका कारण अलग भएको उनले बताए।
पुराना राजनीतिक दलहरूको सान्दर्भिकतामाथि टिप्पणी गर्दै भट्टराईले कुनै पनि राजनीतिक दल सधैँ अजम्मरी नरहने बताए। ‘जे जन्मन्छ, त्यो मर्छ। यो प्रकृतिको नियम हो,’ उनले भने।
पुराना दलहरूले लोकतन्त्रका लागि सङ्घर्ष गर्ने आफ्नो ऐतिहासिक कालखण्ड पूरा गरिसकेकाले अब बदलिएको एजेन्डाअनुसार कि त आफूलाई रूपान्तरण गर्नुपर्ने, नसके नयाँ पुस्तालाई बाटो छोडिदिनुपर्ने उनको सुझाव छ।
अहिलेको युगमा परम्परागत उदारवादी (कांग्रेस) र साम्यवादी (कम्युनिस्ट) दुवै धार अपूर्ण भइसकेको उनको निष्कर्ष छ। अब व्यक्तिको निजी स्वतन्त्रता र सामूहिकता दुवैको संयोजन गर्ने नयाँ विचारसहितको राजनीतिक शक्ति आवश्यक रहेको उनले तर्क गरे।
रूपान्तरण भनेको व्यक्तिको अनुहार फेर्नु मात्र नभई विचार र नीति-कार्यक्रमको रूपान्तरण भएको उल्लेख गर्दै भट्टराईले पुराना दलभित्रको बहस र नयाँ शक्तिको उदयलाई सङ्क्रमणकालीन मन्थनका रूपमा व्याख्या गरे।
‘आगामी केही वर्ष यस्तै मन्थनको चरणबाट गुज्रिन्छ,’ उनले प्रक्षेपण गरे, ‘अन्ततः नेपालमा दुई वा तीनवटा प्रमुख दल थिग्रिएर बन्छन्।’
प्रकाशित: ९ मंसिर २०८३ २१:३३ बुधबार