पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्न लागेका युवा इन्जिनियर शाहलाई ऐतिहासिक जिम्मेवारी प्राप्त भएको भट्टराईले उल्लेख गरेका छन्। देशले लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रिया पार गरिसकेको उल्लेख गर्दै उनले अबको राजनीति सुशासन र समावेशी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन्।
भट्टराईले आफ्नो सन्देशमा वर्तमान समयका चुनौती र सम्भावनाहरूलाई विशेष जोड दिएका छन्। उनका अनुसार आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक अवरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको भू-राजनीतिक परिस्थितिलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु नयाँ नेतृत्वको मुख्य कार्यभार हुनेछ। २१औँ शताब्दीका जनताका आकांक्षाहरू पूरा गर्न र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन बालेन्द्र शाह सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।
नेपाली राजनीतिको वस्तुगत यथार्थ अब डिजिटल प्रविधि र एआई मैत्री युवा पुस्तामा पुस्तान्तरण हुँदै गएको भन्दै भट्टराईले यसलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए। साथै, राजनीतिक क्षेत्रमा कसैको अतिरञ्जित ‘देवत्वकरण वा दानवीकरण’ गर्ने पुरानो प्रवृत्ति त्यागेर गुण र दोषका आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्ने उनको सुझाव छ।
यो पुस्तान्तरणलाई उनले नेपाली राजनीतिको एक अनिवार्य र सकारात्मक परिवर्तनका रूपमा व्याख्या गरेका छन्।
हेर्नुस् उनको शुभकामना सन्देश
ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनियर श्री बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना!
आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिँदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै देश र जनताका एक्काइसौँ शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्!
लामो र कष्ट साध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेशी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआइमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात् गरौँ!
कसैको देवत्वकरण वा दानवीकरण नगरी गुण दोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौँ!
प्रकाशित: १३ चैत्र २०८२ ०९:०१ शुक्रबार