राजनीति

अर्याललाई मृदुभाषी स्वभावका भन्दै बाबुरामले दिए बधाई: संसद्लाई उन्नत लोकतन्त्रको थलो बनाउने विश्वास

रास्वपा सांसद डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि बधाई दिएका छन्।

उनले एक्समार्फत संसद् सञ्चालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने उल्लेख गर्दै सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने कुरा सभामुखकै हातमा रहने उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘सभामुखलाई संसद् सञ्चालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने गर्छ। यो कुरा नेपालमा र विश्वभर देखिने गरेको छ।’

अर्याललाई हँसमुख र मृदुभाषी स्वभावका भन्दै भट्टराईले नेपालको विशिष्ट कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

उनी अगाडि लेख्छन्, ‘हँसमुख र मृदुभाषी स्वभावका धनी श्री अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ट कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउनुहुनेछ भन्ने विशेष शुभेच्छा!’

शुक्रबार दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ (आइतबार) गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। एक मात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

प्रकाशित: २१ चैत्र २०८२ १२:४४ शनिबार