पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन्। आइतबार भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट आफू निर्वाचन लड्न लागेको घोषणा गरेका हुन्।
‘गोरखा–२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु।’
भट्टराईले सोही क्षेत्रबाट २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीबाट भारी मतान्तरसहित जितेका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उक्त क्षेत्र छाडेका थिए। त्यसको बदलामा उनले काठमाडौंमा छोरी मानुषि यमी भट्टराईलाई माओवादी केन्द्रकै चुनाव चिन्हमा लडाएका थिए।
प्रकाशित: ४ माघ २०८२ २०:०६ आइतबार