राजनीति

अख्तियार त्रासबाट होइन, प्रमाणमा आधारित अनुसन्धानबाट बलियो बन्नुपर्छ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर नभई निष्पक्ष, व्यावसायिक र प्रमाणमा आधारित अनुसन्धानबाट बलियो बन्नुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रणसँगै आयोगप्रति नागरिकको विश्वास कायम गर्नुपर्नेमा जोड दिइन्।

उनले भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्ने भए पनि इमान्दार कर्मचारी नै निर्णय लिन डराउने अवस्था सिर्जना भएमा त्यसले सरकारको काम प्रभावित पार्ने बताइन्। स्पष्ट रूपमा कानुनमा व्यवस्था भएका विषयमा समेत कर्मचारीले निर्णय वा राय दिन हिच्किचाउने अवस्था देखिनु गम्भीर समस्या भएको उनको भनाइ थियो।

मन्त्री गौतमले उजुरी परेकै आधारमा कसैविरुद्ध तत्काल अभियोजन गर्ने प्रवृत्ति गलत हुने बताइन्। उनका अनुसार आयोगले उजुरीपछि पर्याप्त प्रमाण संकलन गर्नुपर्छ र तथ्य तथा प्रमाण पुष्टि भएपछि मात्रै अभियोजन अघि बढाउनुपर्छ।

‘कसैले उजुरी दिएकै आधारमा अभियोजन गर्ने स्थिति सिर्जना भयो भने सबैलाई भोलि कुनै निर्णय लिन गाह्रो हुन्छ,’ उनले भनिन्।

अख्तियारमा योग्य, सक्षम र उपयुक्त व्यक्तिको नियुक्ति हुनुपर्नेमा पनि मन्त्री गौतमले जोड दिइन्। पूर्वकर्मचारी आयोगमा जाने प्रवृत्ति रहे पनि नियुक्तिमा योग्यता र क्षमतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

उनले संवैधानिक निकायको विश्वसनीयता कायम राख्न निष्पक्षता र व्यावसायिकता अपरिहार्य रहेको बताउँदै अख्तियारको शक्ति त्रासमा नभई प्रमाणमा आधारित अनुसन्धान र निष्पक्ष अभियोजनबाट देखिनुपर्ने धारणा राखिन्।

प्रकाशित: ४ भाद्र २०८३ १३:४८ बिहीबार