राजनीति

एमालेका नेतामाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय : थेबे

'स्वतन्त्र रूपमा आवतजावत गर्नु सबै नागरिकको नैसर्गिक अधिकार हो'

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबेले विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापेको घटनाको निन्दा गरेका छन्।

शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्नु सबै नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै उनले आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताए।

'विराटनगर विमानस्थलमा नेकपा (एमाले)का नेताहरूमाथी गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ,' थेबेले सामाजिक सञ्जालमा लेखेका छन्, 'शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्नु सबै नागरिकको नैसर्गिक अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।'

हिंसा नभएर विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत नै देश अगाडि बढ्ने उनको भनाक्ष छ। यसका निम्ति जेनजीसँग संवाद श्रृंखला राष्ट्रिय युवा संघ नेपालले सुरु गरिरहेको बताए। उनले सम्पूर्ण नवयुवाहरू संवाद मार्फत नै आफूहरू अघि बढ्ने जिकिर समेत गरे।

'अराजकता र आपराधिक गतिविधि कोही कसै बाट गर्नु/हुनु हुँदैन। सान्त समाज निर्माण तपाईं हाम्रो जिम्मेवारी हो,' उनले भने, 'बाधाका बिच राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ। विषेशत : युवा जानरण अभियान नागरिक सुरक्षा केन्द्रित रहने छ।'

प्रकाशित: ७ मंसिर २०८२ १३:२९ आइतबार