राजनीति

चुनाव गराउन दलहरूबीच सैद्धान्तिक सहमति, सुरक्षा व्यवस्थापनमाथि प्रश्न

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा जारी सर्वदलीय बैठकमा दलहरू आगामी निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रूपमा सहमत भएका छन्।

यद्यपि, उनीहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

करिब तीन घण्टादेखि जारी बैठकमा दलका प्रतिनिधिहरूले धारणा राख्ने क्रम अन्तिम चरणमा पुगेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार, बैठकमा सहभागी अधिकांश नेताहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको कार्यक्षमतामाथि आशंका व्यक्त गरे पनि निर्वाचनको भने विरोध गरेको छैन।

एमालेका प्रतिनिधिहरूले वर्तमान सरकारले निष्पक्ष र शान्तिपूर्ण चुनाव गराउन सक्छ कि सक्दैन भन्नेमा आफ्नो संशय रहेको धारणा राखेका थिए।

बैठक हाल जारी छ र सबै दलका प्रतिनिधिले बोलिसकेपछि निष्कर्षमा पुग्ने बताइएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १९:३८ मंगलबार