नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बिदा लिन सुझाव दिएकी छिन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण गौरवपूर्ण इतिहास बोकेको एमाले कमजोर स्थितिमा पुगेको आरोप समेत लगाएकी छिन्।
पार्टीलाई पुनर्जीवित र मजबुत बनाउन नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छिन्।
नेतृ शाक्यले ओलीले तीन कार्यकालसम्म पार्टीको नेतृत्व गरेको बताउँदै अब कार्यकर्ताको भावना बुझ्ने बेला आएको बताएकी छिन्। एमाले लाखौँ कार्यकर्ताको त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको उनको भनाई छ।
‘यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड, सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।’ सामाजिक सञ्जालमा उनले लेखेकी छिन्।
वर्तमान समयमा युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने भन्दै उनले चालु बैठकबाटै ओलीलाई ससम्मान बिदा लिन आग्रह गरेकी छिन्।
‘व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला हो,’ शाक्यले लेखेकी छिन्, ‘अन्धकारमा डुब्न लागेको एमालेलाई फेरि उठाउन अहिले नै नेतृत्व हस्तान्तरण जरुरी छ।’
प्रकाशित: ९ जेष्ठ २०८३ १३:१६ शनिबार