राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादामा बस्न’ भनेको प्रति आपत्ति जनाउँदै जनताको मुद्दामा सरकारसँग जवाफ माग्नु आफ्नो दायित्व भएको बताएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने विषयमा आवाज उठाउँदै सांसद तामाङले ३७ दिनसम्म आफूले धैर्य र सहनशीलता अपनाएको बताइन्। धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आफूले निरन्तर आवाज उठाए पनि समस्या समाधान नभएको उनको भनाइ थियो। ‘सभामुखज्यू भन्नुहुन्छ, मर्यादामा बस्नुस्। ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादाभित्र पर्दैन र?’ भन्दै उनले प्रश्न गरिन्।
पीडित परिवारका सदस्यलाई लिएर आफूले विभिन्न सरकारी निकायमा धाउँदै आएको उल्लेख गर्दै तामाङले भनिन्, ‘पीडितको श्रीमती र बुवा लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय, कहिले काउन्सलर कहाँ पुगिनँ?’
सभामुखले जे भने पनि ‘हुन्छ’ भन्दै टाउको हल्लाएर बस्नु मात्रै आफ्नो लागि मर्यादा नभएको उनको भनाइ थियो। उनले जनताको समस्या समाधानमा ढिलाइ हुँदा सदनमार्फत सरकारसँग जवाफ माग्नु आफ्नो जिम्मेवारी भएको बताइन्।
‘हिजो प्रतिपक्षले बिनाकारण सभामुखज्यूलाई आलोचना गर्दा सबैभन्दा अगाडि नियमापत्ति गर्ने पनि मै थिएँ। आज जनताको मुद्दामाथि काममा ढिलासुस्ती हुँदा सदनमा सभामुखज्यूमार्फत जवाफ मात्र खोजेको हुँ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनिन्।
सांसद तामाङले सरकार जनताका हरेक मुद्दामा जवाफदेही हुनुपर्नेमा जोड दिइन्। विदेशमा अलपत्र नेपालीका शव स्वदेश ल्याउन अर्थ मन्त्रालयले बजेट विनियोजन गरे पनि आवश्यक कार्यविधि नबन्दा कार्यान्वयन हुन नसकेको विषय उनले सदनमा उठाउँदै आएकी छन्।
उनको लगातार दबाबपछि सभामुख डोलप्रसाद अर्यालले सांसद तामाङ र गोपाल शर्माले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रकाशित: २ भाद्र २०८३ ०७:१८ मंगलबार