राजनीति

सभामुखको निर्देशन अवज्ञा गर्दै आशिकाले गरिन् संसद् बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखको निर्देशन अवज्ञा गर्दै मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी छन्।

संसद् बैठकमा परराष्ट्रमन्त्रीको जवाफप्रति आपत्ति जनाउँदै उभिएर विरोध गरेपछि सभामुखले उनलाई स्पष्टीकरणको व्यवस्था नरहेको भन्दै मर्यादामा रहन र बस्न निर्देशन दिएका थिए।

तर, सभामुखले बोल्न समय नदिएपछि सांसद तामाङ बैठक कक्ष छाडेर बाहिरिएकी हुन्।

यसअघि बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको शव फिर्ता ल्याउने विषयमा कार्यविधि बनाएर प्रक्रिया पूरा गर्नुपर्ने बताएका थिए। मन्त्रीको सोही भनाइप्रति सांसद तामाङले तत्कालै उठेर आपत्ति जनाएकी थिइन्।

सांसद तामाङले विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश ल्याउन सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएकी थिइन्।

उनले सोमबारको बैठकको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि आवाज उठाउँदा पनि सरकारले हालसम्म कुनै सुनुवाइ नगरेको बताएकी थिइन्।

विदेशमा अलपत्र परेका शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसके पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको उनको आरोप थियो।

कार्यविधिको अभावमा आफन्तहरू शव पाउने आशा गुमाउने अवस्थामा पुगेको सांसद तामाङले संसद्‌मा उल्लेख गरेकी थिइन्।

प्रकाशित: २ भाद्र २०८३ १५:०९ मंगलबार