राजनीति

महँगी नियन्त्रण गर्न सरकार असफल भएको अर्जुननरसिंह केसीको भनाइ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। 

दशैंको समापन तथा दीपावली र छठ पर्वको प्रतीक्षाको समयमा आम नागरिकले उत्सवको उल्लासभन्दा महँगी, बेथिति र राजनीतिक उदासीनताको सामना गर्नुपरेको उनले बताएका छन्। 

सामाजिक सञ्जालमार्फत केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नेतृत्व परिवर्तनले नागरिकको दैनिक जीवनमा परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गरेका हुन्। 

उनले दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वका बेला आम उपभोक्ताले महसुस गर्ने गरी बजार नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। 

नाममात्रको बजार अनुगमन र कालोबजारी गर्नेहरूलाई संरक्षण गरिएको जस्तो देखिने गरी भइरहेको अत्यधिक मूल्यवृद्धिले मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व खल्लो बनाएको उनको भनाइ छ। चाडपर्वका बेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको आर्थिक भार बढाएको उनको भनाइ। 

सरकारको बजार अनुगमन र मूल्य नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन र बजार व्यवस्थापनमा सुधार हुन नसकेको बताएका छन्। 

प्रकाशित: १० कार्तिक २०८३ १४:२७ मंगलबार