राजनीति

‘देशमा नियम कानुन छैन, के नेपाल ‘बनाना रिपब्लिक’ हो ?’

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले विधिको शासनको धज्जी उडाएको र नेपाल ‘बनाना रिपब्लिक’ जस्तो बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले सरकारले देशमा नियम कानुन नै नभएको जस्तो गरी मनपरी गरिरहेको आरोप लगाए।

अडियो प्रकरण र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै महामन्त्री राणाले राज्य संयन्त्रको दुरुपयोग भएको बताए।

प्रहरीले अनुसन्धान सुरु नै नगरेको अवस्थामा बयानको भिडियो खिचेर बाहिर ल्याउने कार्य पूर्ण रूपमा गैरकानुनी भएको उनको भनाइ छ। ‘अनुसन्धान गरेको भिडियो खिचेर बाहिर निकालेको कहिल्यै आएको छ ? नेपाल बनाना रिपब्लिक हो ?  नियम कानुन भन्ने चिज हुँदैन ?’ राणाले प्रश्न गरे।

सरकारले राज्यका सबै अंगलाई त्रसित बनाएर अराजकता निम्त्याएको उनले दाबी गरे।

सञ्चारमाध्यममाथि प्रहरी लगाएर तर्साउने, न्यायाधीशहरूलाई काम गर्न नदिने र अख्तियार प्रमुखलाई सिंहदरबारमै छुट्टै जेल बनाएर थुन्ने जस्ता कार्य भइरहेको उनले बताए।

छोटो समयमै ५०० भन्दा बढी कर्मचारीलाई धम्काएर राजीनामा गर्न लगाएको र सिँचाइका हाकिमलाई रातभर थुनेर आफू अनुकूल टेन्डर रद्द गर्न बाध्य पारिएको दृष्टान्त उनले पेस गरे।

देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको महामन्त्री राणाको आरोप छ। मन्त्रालयका सचिवलाई बाइपास गरेर सल्लाहकारहरूले निर्णय लिने गरेको र राज्यको मेसिनरी पूर्ण रूपमा निष्क्रिय भएको उनले बताए।

प्रधानमन्त्री कार्यालयबाटै प्रमाण नष्ट गर्ने र फोन गायब पार्ने जस्ता आपराधिक मनोवृत्तिका काम भइरहेको उनको भनाइ छ।

यस्तो अराजकतासामु नेपाली कांग्रेस र पार्टी सभापति गगन थापा सरकारका कुनै पनि धम्कीबाट नडराउने राणाले सुनाए।

संसद् खुल्ने बित्तिकै यी सबै गैरकानुनी कार्य र भिडियो लिक प्रकरणमाथि छानबिन समिति बनाएर सरकार तथा प्रहरीलाई संसद्‌मा उभ्याउने उनले चेतावनी दिए।

लोकतन्त्र, संविधान र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कांग्रेसले अब सशक्त प्रतिकार गर्ने उनले बताए।

प्रकाशित: १८ कार्तिक २०८३ २१:५४ बुधबार