राजनीति

कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्तीः कटवालको अवकाश, वस्तीको नाम चर्चामा

कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेका बेला कायममुकायम प्रशासक जीवनकुमार कटवाल मंगलबारदेखि अनिवार्य अवकाशमा गएका छन्। अर्थमन्त्री डा.स्वर्णीम वाग्लेसम्मै पहुँच बनाएको भन्दै चर्चामा रहेका कटवाललाई नै सञ्चयकोषको भावी प्रशासकका रुपमा हेरिएको थियो। ५८ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा गएपछि सञ्चयकोषको अबको नेतृत्वमाथि नयाँ बहस सुरु भएको छ। कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार प्रशासक हुन कोषमा कार्यरत बाहालबालाकर्मचारी हुनु पर्नेछ ।  

कटवालको अवकाशपछि प्रशासकमा भरतराज वस्तीको नाम चर्चामा आएको छ। प्रशासक बन्न योग्यता पुग्ने चार जना अधिकारीमध्ये वरिष्ठताका आधारमा वस्तीको चर्चा सुरु भएको हो। देशैभर रहेका कर्मचारीमा कार्यक्षमताका आधारमा अब्बल मानिने वस्तीले सम्भवतः बुधबारदेखि नै निमित्तप्रशासकको जिम्मेवारी सम्हालेछन्। यद्यपि सरकारले हालसम्म भने उक्त निर्णय गरेको छैन।  

कर्मचारी सञ्चयकोषको प्रशासक पदका लागि असार ८ गते आवेदन आह्वान गरिएकोमा कोषभित्रका ११ जना कर्मचारीले आवेदन दिएका थिए। त्यसपछि अर्थ मन्त्रालयले पाँचजनाको नाम सर्टलिस्ट गरी अन्तर्वार्ता लिएको थियो। उम्मेदवार छनोट तथा सिफारिस समितिले एक नम्बरमा कटवालको नाम राख्दै तीनजनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। यद्यपि कटवालको अवकाशपछि सरकारले सिफारिसमा रहेका बाँकी दुई जनाबाटै प्रशासक नियुक्त गर्छ वा नयाँ दरखास्त आह्वान गर्छ भन्ने यकिन छैन। अर्थ मन्त्रालयले सिफारिस सूचीमा रहेका बाँकी दुई जनाको नाम भने सार्वजनिक गरेको छैन।

झण्डै छ खर्ब पुँजी रहेको यस संस्थाले सही नेतृत्व पाउन सके ऊर्जा, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा कायापलट गर्न सक्ने र आन्तरिक पूजीँ परिचालनमार्फत सरकारको उद्धेश्य पनि हाँसिल गर्न सक्ने वित्तिय विश्लेषकहरू बताउँछन् ।

प्रकाशित: २ भाद्र २०८३ १९:४५ मंगलबार