राजनीति

रविलाई माजिदको खुलापत्र : तपाईंले सचेत कार्यकर्ता बनाउने कि मूर्ख दासहरूको झुण्ड

जेनजी अभियन्ता माजिद अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीका कार्यकर्तालाई लोकतन्त्र, संविधानवाद, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका र पूर्ण प्रेस स्वतन्त्रताबारे सचेत गराउन आग्रह गरेका छन्। 

सभापति  लामिछानेलाई सम्बोधन गर्दै अन्सारीले रास्वपाबाट राजनीतिमा आएका अधिकांश पत्रकार अहिले प्रतिनिधिसभा सदस्य बनेको र पार्टीमा समेत निर्णायक भूमिकामा रहेकाले प्रेस स्वतन्त्रता तथा प्रेस काउन्सिलमार्फत हुने प्रेस नियमनबारे जनतालाई अभिमुखीकरण गर्नु उनीहरूको जिम्मेवारी भएको बताएका हुन्। 

अन्सारीले केही दिनअघि रास्वपा नेतृत्वको सरकारले पत्रकारलाई न्युजरुमबाटै पक्राउ गरेको घटनाको विरोध गर्दै प्रेस काउन्सिलमार्फत नियमन गर्न सकिने अवस्थामा पत्रकारलाई पक्राउ गर्नु गलत भएको तर्क दिँदै आएका छन्। 

त्यस्तैगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीलाई जोडेर काठमाडौं पार्टी र एनएम खबरमा प्रकाशित समाचारको सत्यतामाथि प्रश्न उठाउँदै अन्सारीले समाचार असत्य भए प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र अदालतको अवहेलनासम्बन्धी कारबाही अघि बढाउनुपर्ने बताएका छन्। 

उनले पत्रकारमाथि भएको धरपकडको विरोध गर्दै रास्वपाले आफ्नै लेटरहेडमा विज्ञप्ति जारी गरेको प्रसंगसमेत उठाएका छन्। पार्टीले पत्रकार पक्राउको विरोध गर्ने तर प्रेस नियमन र कानुनी प्रक्रियाको विषयमा फरक धारणा राख्ने कार्यकर्ताले प्रश्न उठाउनु विरोधाभासपूर्ण भएको बताएका छन्। 

रास्वपा सभापति लामिछानेलाई आफ्ना कार्यकर्तालाई लोकतन्त्र, संविधानवाद, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, प्रेस काउन्सिलमार्फत हुने प्रेस नियमन र नागरिक अधिकारबारे अभिमुखीकरण गर्न आग्रह गरेका छन्। 

‘तपाईंले सचेत कार्यकर्ता बनाउने कि मूर्ख दासहरूको झुण्ड बनाउने जिम्मा तपाईंहरूको,’ अन्सारीले भनेका छन्।   

प्रकाशित: १७ कार्तिक २०८३ ११:५३ मंगलबार