राजनीति

बालेन र सुदनविरुद्ध अर्को पनि जाहेरी, राजद्रोहको कसुरमा अनुसन्धान माग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा अर्को जाहेरी पनि परेको छ। युवराज पौडेल ‘सफल’ले बुधबार हुलाकबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पठाएका हुन्। उक्त जाहेरी परिसरमा पुगिसकेको परिसर स्रोतले जनाएको छ। 

जाहेरीमा ‘मुलुकी अपराध संहिता, २०७४ अनुसार ‘राजद्रोह सम्बन्धी कसुर’ दफा ५०(१) सम्बन्धी कसुरमा अनुसन्धानको माग गरिएको छ। 

यसअघि मंगलबार मात्रै मेयर बालेन र हामी नेपालका संस्थापक सुदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो। 

दुवै जाहेरी अहिलेसम्म दर्ता भएका छैनन्। अनेरास्ववियुको टोलीलाई प्रहरीले २४ घण्टाभित्र सरकारी वकिलसँग छलफल गरेर निर्णय दिने बताएर पठाएको थियो। 

यता युवराज सफलले आफूले हुलाकबाट जाहेरी पठाएको बताउँदै भोलि सम्ममा जाहेरी दर्ता हुने विश्वास व्यक्त गरे। 

तर प्रहरीले दुवै जाहेरी जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाउने तयारी गरेको बुझिएको छ। 

प्रकाशित: २२ आश्विन २०८२ १३:४५ बुधबार