राजनीति

सरकारलाई खबरदारी गर्दा कोपभाजनमा पर्ने डर, उद्धारमा ताकेता गर्दै प्रधानमन्त्रीलाई बेनामे पत्र

आफ्नै सहकर्मीहरू सुरुङभित्र जीवन–मृत्युको दोसाँधमा छन्। बाहिर रहेका सहकर्मीहरू भने उनीहरूलाई कसरी बचाउने भन्ने चिन्तामा छन्। तर सरकारको उद्धार प्रयासप्रति प्रश्न उठाउँदा आफूहरू नै कारबाहीको निशानामा पर्न सक्ने डर पनि छ।

यही डरका बीच नेपाल विद्युत् प्राधिकरणका केही कर्मचारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बेनामे सामूहिक पत्र लेख्दै सुरुङभित्र फसेका आफ्ना सहकर्मी र विभिन्न आयोजनामा रहेका कर्मचारी तथा कामदारको उद्धार तत्काल तीव्र बनाउन आग्रह गरेका छन्।

आफ्नो परिचय खुलाउँदा सरकारको ‘कोपभाजन’मा परिने डर भएकाले छद्म नाममा पत्र लेख्नुपरेको उनीहरूको भनाइ छ। उनीहरूले पत्रमार्फत प्रधानमन्त्रीलाई अहिले औपचारिकता पूरा गर्ने समय नभइ, मानिसको ज्यान बचाउने समय भन्दै खबरदारी गरेका छन् ।  

सुरुङभित्र फसेकाहरूका लागि हरेक मिनेट महत्वपूर्ण भए पनि उद्धारमा अपेक्षित गति नदेखिएको भन्दै उनीहरूले प्रधानमन्त्रीको तत्काल ध्यानाकर्षण गराएका छन्।

उनीहरूले पत्रमा भनेका छन्, ‘सहयोगका लागि तयार रहेका विदेशी उद्धारकर्मी तथा शुभेच्छुकहरूलाई किन समयमै अनुमति र आवश्यक समन्वय गर्न सकिरहेका छैनौँ?’

उनीहरूका अनुसार सुरुङमा फसेका मानिसको उद्धारमा धेरै ढिला भइसकेको छ। अब समय झन् महत्वपूर्ण बन्दै गएको छ। त्यसैले जारी उद्धार कार्यलाई तत्काल तीव्रता दिन आवश्यक कदम चाल्न उनीहरूले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

‘अहिले अत्यन्तै गम्भीर घडी हो। लामो प्रशासनिक प्रक्रिया वा विस्तृत औपचारिकताका लागि समय छैन,’ पत्रमा भनिएको छ, ‘अहिलेको प्राथमिकता केवल जीवन बचाउनु हो। प्रत्येक मिनेटको ढिलाइले कसैको बाँच्ने सम्भावना गुम्न सक्छ।’

त्यसैले अनावश्यक प्रशासनिक ढिलासुस्ती हटाउन, उद्धारका लागि तयार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीलाई तत्काल अनुमति दिन र आवश्यक सबै स्थानमा एकैसाथ स्रोतसाधन परिचालन गर्न उनीहरूले प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेप माग गरेका छन्।

उद्धारमा ढिलाइको पीडा कार्यालयभित्रसम्म

रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीका आयोजनामा कार्यरत कर्मचारी तथा कामदारलाई प्रत्यक्ष प्रभावित बनाएको छ। विभिन्न आयोजनामा काम गरिरहेका सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको बताइएको छ।

अपर त्रिशूली–३ ए, अपर त्रिशूली थ्री बी, सरुवागढी, चिलिमे, त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली थ्री बीलगायतका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ।

प्रकाशित: १५ भाद्र २०८३ १५:३३ सोमबार