कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको करिब आठ वर्षअघिको एउटा अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ। भिडियोमा गौतमले ‘शरीरमा हानी–नोक्सानी नभएको अवस्थामा बलात्कार हुनु र झापड खानुमा फरक नभएको’ धारणा राखेको देखिन्छ।
गौतम अहिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छिन्। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को विवरणमा उनलाई यही मन्त्रालयको जिम्मेवारी दिइएको छ।
भाइरल भइरहेको भिडियो भने उनी राजनीतिमा आउनुअघिको हो। सन् २०१८ मा प्रसारित ‘Daju Bhai Talk Show’को अन्तर्वार्तामा उनले बलात्कारबारे आफ्नो धारणा राखेकी थिइन्। त्यही अन्तर्वार्ताको छोटो अंश अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको हो।
भिडियोको भाइरल अंशमा गौतमले बलात्कारपीडित महिलाको शरीरमा हानी-नोक्सानी नभएको अवस्थामा बलात्कार र कसैले झापड हान्नुबीच फरक नभएको बताएकी छन्। उनले दुवैलाई महिला हिंसाका घटना भन्दै पीडितलाई ‘जिन्दगी नै सकियो’ भन्ने ढंगले समाजले हेर्न नहुने तर्क गरेकी थिइन्।
के थियो उनको पूरा तर्क?
भाइरल भएको करिब १५ सेकेन्डको क्लिपभन्दा अन्तर्वार्ताको मूल प्रसंग निकै लामो छ। बलात्कारबारे प्रश्नमा गौतमले समाजले बलात्कारलाई पीडित महिलाको जीवन नै समाप्त भएको घटनाजस्तो प्रस्तुत गर्ने गरेको र त्यसले पुनर्स्थापनामा थप समस्या पार्ने धारणा राखेकी थिइन्।
उनले बलात्कारपछि महिलालाई ‘अब कसले बिहे गर्ने’, ‘जिन्दगी सकियो’ जस्ता दृष्टिकोणबाट हेर्न नहुने र घटनापछि पनि पीडितले आफ्नो जीवन सामान्य रूपमा अघि बढाउन सक्ने वातावरण बनाउनुपर्ने बताएकी थिइन्।
उनको भनाइमा बलात्कारलाई जघन्य अपराधका रूपमा नहेर्नुपर्छ भन्ने आशय पनि देखिन्छ। बरु बलात्कारलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गरेर पीडितको पुनर्स्थापनामा जोड दिनुपर्ने उनको तर्क थियो।
यसअघि पनि विवादमा आएको थियो
गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएपछि यही पुरानो अन्तर्वार्ता पहिलोपटक व्यापक रूपमा भाइरल भएको थियो। त्यतिबेला पनि उनको भनाइलाई लिएर तीव्र बहस भएको थियो।
त्यसपछि उनले आफ्नो पुरानो अभिव्यक्तिप्रति खेद व्यक्त गरेको विवरणसमेत सार्वजनिक भएको थियो। अहिले उनी कानुनमन्त्री बनेपछि पुरानो भिडियो पुनः सामाजिक सञ्जालमा फैलिएको हो।
३९ मिनेटभन्दा लामो मूल अन्तर्वार्ताबाट बलात्कारसम्बन्धी करिब १४ मिनेटको छलफल भएको र सामाजिक सञ्जालमा भने त्यसबाट करिब १५ सेकेन्ड मात्र काटेर राखिएको भिडियो भाइरल हुँदैछ ।
गौतम अहिले कानुन मन्त्रालयको जिम्मेवारीमा रहेकाले उनको पुरानो अभिव्यक्तिमाथि थप चासो देखिएको हो।
त्यसमा पनि तीन वर्षीया बालिकाको बलात्कापछि हत्या भएको घटनाले पनि अहिले कानुन मन्त्रालयको जिम्मेवारी रहेकी गौतमको विगतमा बोलेको अभिव्यक्तिलाई धेरैले साझा गरेको देखिन्छ ।
प्रकाशित: ६ भाद्र २०८३ १९:०७ शनिबार