राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकारले सुशासन स्थापना गर्न राष्ट्रिय सदाचार नीति २०७४ लागू गर्न माग गरेका छन्। सरकारले उक्त नीति कार्यान्वयन गरेर सुशासनप्रतिको प्रतिबद्धता पूरा गर्नुपर्ने माग उनले राखेका हुन्।
‘सुशासनका लागि म सरकारसँग दुईवटा कुरा गर्न चाहन्छु। एउटा राष्ट्रिय सदाचार नीति २०७४ हो, जुन कुनै पनि सरकारले लागू गर्न आँट गरेन। त्यसलाई यो सरकारले तत्काल लागू गरोस्,’ उनले भने।
सिंहले सरकारी, सार्वजनिक तथा गुठी जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि तयार भएको प्रतिवेदन कार्यान्वयन नभएको बताए। पूर्वन्यायाधीश मोहनरमण भट्टराईको नेतृत्वमा तयार पारिएको सरकारी, सार्वजनिक तथा गुठी जग्गा सम्बन्धी प्रतिवेदन मन्त्रालयमै थन्किएको उनको भनाइ छ।
पूर्वन्यायाधीश मोहनरमण भट्टराईको नेतृत्वको प्रतिवेदन मन्त्रालयमा जम्मा भएको बताउँदै उनले प्रतिवेदन सार्वजनिक हुने बित्तिकै धेरै स्थानका सरकारी, सार्वजनिक र गुठी जग्गा राजनीतिक दलका नेता तथा उनीहरूका मतियारद्वारा कब्जा गरिएको तथ्य बाहिर आउने बताए।
प्रकाशित: २९ जेष्ठ २०८३ १२:५४ शुक्रबार



