नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गत भदौमा भएको जेनजी आन्दोलन षड्यन्त्रसहित हाइज्याक भएको दाबी गरेका छन्। सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आन्दोलनमा घुसपैठ गर्ने तत्वहरूबारे गम्भीर छानबिन हुनुपर्ने बताएका हुन्।
आफ्नो सम्बोधनका क्रममा दाहालले आन्दोलनको वास्तविक दिशा मोड्ने शक्तिहरूबारे प्रश्न उठाउँदै भने, ‘जेनजी आन्दोलनको अपहरणकारी को थिए ? त्यो घुसपैठ गर्ने को थिए र तिनले अहिले देशलाई कहाँ पुर्याएरु भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ।’
सरकारले प्रतिवेदन समेत गायब पारेको भन्दै उनले भने, ‘म सुन्दै छु, आज मेरो कसैप्रति आरोप लगाउन अहिले चाहेको छैन। तर म यो फेरि भन्न आवश्यक ठानेको छु कि ती प्रतिवेदनहरू गायब पारिएका छन्। अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ। सत्य तथ्य के हो ?’
भदौ २३ गतेको घटनालाई स्मरण गर्दै दाहालले आन्दोलनकारीहरूकै तर्फबाट षड्यन्त्र नभएको स्पष्ट पारे। ‘२३ गते नै घर फर्किनू, घुसपैठ भयो, अपहरण भयो हाम्रो आन्दोलन’ भन्नेहरूले त पक्कै चलाएको होइन, उनले थपे, ‘यी कुराहरू पनि आज २३ गतेको दिन हामी सबैले चिन्तन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनका लागि आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने आवश्यकता छ।’
प्रकाशित: २३ भाद्र २०८३ १७:०१ मंगलबार