सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा कार्यानुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि प्रस्तावित राजदूतको नाम सिफारिस गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए।
मन्त्री खनालका अनुसार विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो। अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो (सहमति) मागिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरेको छ।
त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शारू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।
यसैगरी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ।
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित: २ आश्विन २०८३ १६:०८ शुक्रबार