राजनीति

मोरङमा सम्पूर्ण तयारी पूरा, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै मतदान स्थलहरूमा सम्पूर्ण तयारी पूरा भएको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण  सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।  

मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले फागुन २१ (भोलि) बिहान ७ बजेदेखि मतदान सुरु हुने र मतदान सकिए लगत्तै मतपेटिकाहरू सम्बन्धित मतगणना स्थलमा ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार भौगोलिक विकटताका कारण क्षेत्र नम्बर १ को मिक्लाजुङ गाउँपालिका–१ र केराबारी–२ को पहाडी क्षेत्रबाट मतपेटिका ल्याउन करिब ४ घण्टा लाग्ने अनुमान गरिएको छ । अन्य क्षेत्रबाट मतदान सकिएको केही समयभित्रै मतपेटिका गणनास्थल आइपुग्ने छ ।  

मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ । जस अनुसार क्षेत्र नम्बर १ उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को सिजवास्थित विश्वनाथ मन्दिर, क्षेत्र नम्बर ३ को बेलबारीस्थित भगवती माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ को विराटनगरस्थित जनता नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को विराटनगरको आदर्श माध्यमिक विद्यालयमा मतगणना हुनेछ ।  

मतगणनालाई पारदर्शी र सुरक्षित बनाउन मतगणना स्थलहरूमा सीसी क्यामेरा जडान गर्नुका साथै तारजालीको घेरा लगाइएको छ । मतपेटिका संकलन भए लगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत गुरुङले बताए । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ । त्यस अनुसार नै सबै पक्षसँग समन्वय गरेर चाँडोभन्दा चाँडो मत परिणाम सार्वजनिक गर्ने सोचका साथ काम भइरहेको गुरुङले बताए ।  

मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कटेलले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए । उनले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उचित ढंगले परिचालन गरिएको छ । सिडिओ कटेलले भने, ‘निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा ‘प्रोटोकल’ अनुसार कारबाही गरिने छ । अवाञ्छित गतिविधि भएमा ‘ब्यालेट’ जोगाउन ‘बुलेट’ प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि पनि प्रोटोकलअनुसार सुरक्षा संयन्त्र मिलाइएको छ ।’  

मोरङमा ३ लाख ९९ हजार ६८६ पुरुष मतदाता, ३ लाख ८३ हजार ३५७ महिला मतदाता, ७ अन्य गरी कूल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् ।  

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ४७ वटा अति संवेदनशील, १२५ वटा संवेदनशील र १३४ वटा सामान्य मतदानस्थल रहेका छन् । निर्वाचन स्थलमा ३ तहको सुरक्षा व्यवस्था चुस्त पारिएको छ भने निर्वाचन प्रहरी पनि तैनाथ अवस्थामा रहेका छन् ।

प्रकाशित: २० फाल्गुन २०८२ १८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App