राजनीति

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दै

फाइल तस्बिर

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

बिहीबार (आज) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने पार्टीले जनाएको छ। बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले बताए।

यसअघि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका थिए।

उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।

लामिछानेले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट आएका सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्। उनले अप्रमाणित सूचना, हल्ला र अफवाह सामाजिक सञ्जालमा नफैलाउन पनि अनुरोध गरेका छन्।

गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने भन्दै उनले यस्तो संवेदनशील अवस्थामा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका हुन्।

रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा सदस्यलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार, राहत तथा स्वयंसेवी काममा सक्रिय रूपमा सहभागी हुन पनि लामिछानेले आह्वान गरेका छन्।

विपद्को यस घडीमा नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोगलाई सबैको साझा प्राथमिकता बनाउनुपर्ने लामिछानेले बताएका छन्। बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उनले सुरक्षित रहन र एक अर्कालाई सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित: ११ भाद्र २०८३ ०८:२१ बिहीबार