राजनीति

बाढीमा हराइरहेकाको खोजी र उद्धारमा सबै पक्ष एकजुट हुनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रसुवामा आएको बाढीबाट हराइरहेका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र विपद्मा परेकालाई राहत उपलब्ध गराउन सम्पूर्ण देशवासी एकजुट हुनुपर्ने बताएका छन्। 

भट्टराईले सामाजिक सञ्जालमार्फत अहिलेको प्रमुख प्राथमिकता वातावरणीय विषयभन्दा पनि तत्काल उद्धार तथा राहत हुनुपर्ने बताएका हुन्। उनले हराइरहेका नागरिकको संख्या प्रारम्भिक अनुमानभन्दा निकै ठूलो हुन सक्ने भन्दै खोजी तथा उद्धारलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्। 

‘आजै र अहिल्यै सम्पूर्ण देशवासी एक ढिक्का भएर गर्नुपर्ने प्रमुख काम चाहिँ हराइरहेका हजारौँ नेपाली र विदेशी नागरिकको खोजी तथा उद्धार र विपत्मा परेकाहरूलाई राहत नै हो। त्यो संख्या अहिले हामीले सोचेभन्दा निकै ठूलो हुनसक्छ।’ उनले भनेका छन्। 

राज्यका विभिन्न निकाय र सुरक्षाकर्मीले अहोरात्र गरिरहेको उद्धार तथा राहत कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उनले अहिलेको प्रलयकारी विपद्का लागि त्यति मात्र प्रयास पर्याप्त नहुन सक्ने बताएका छन्। 

साथै संघ, प्रदेश र स्थानीय तहका सरकारी संयन्त्रसँगै आम नागरिक, राजनीतिक दल तथा स्वयंसेवी संस्थालाई समेत एकीकृत रूपमा परिचालन गर्न आवश्यक रहेको बताएका छन्। 

‘त्यस निम्ति राज्यका तीनै तहका अंगहरू सहित आम नागरिकहरू र राजनीतिक दल तथा स्वयंसेवी संगठनहरूको एकीकृत परिचालन जरूरी छ।’

भट्टराईले विपद्लाई नेपाल, छिमेकी मुलुक र विश्वभर पर्यावरण विनाशले निम्त्याउन सक्ने मानव अस्तित्वसँग जोडिएको गम्भीर प्रश्नका रूपमा लिनुपर्ने बताएका छन्। 

‘पृथ्वीको तेस्रो ध्रुव’ भनिने हिमालय शृंखलाको महत्वपूर्ण भूभागमा रहेको नेपालले वातावरणीय जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि जिम्मेवार पहल गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: १२ भाद्र २०८३ ११:५९ शुक्रबार