राजनीति

विकसित राष्ट्र निर्माणमा सबै सांसदको बराबरी भूमिका रहन्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

सभामुख पदमा निर्वाचित भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको नीतिगत बहस, छलफल गर्ने र निष्कर्ष निकाल्ने हुन्छ। यस कार्यका लागि संसद् एक खुला विश्वविद्यालयसरह रहने भएकाले आफू सदैव सकारात्मक भएर काम गर्नेछु। सत्तापक्षको गुण र दोषका आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने भएकाले समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबै सांसदहरूको बराबरी र महत्त्वपूर्ण भूमिका रहन्छ।’

नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र प्रचलित कानुनलाई मार्गदर्शन मानी समग्र संसदीय क्रियाकलाप सञ्चालन गर्ने उल्लेख गर्दै सभामुख अर्यालले संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर विकास निर्माणका गतिविधि सञ्चालन गर्ने र आवश्यक कानुन बनाउने थलो संसद् भएकाले सबै राजनीतिक दललाई रचनात्मक सहयोग र सहभागिताका लागि आग्रह गरे।

‘म कुनै राजनीतिक दलमा आबद्ध भएर निर्वाचित हुँदै प्रतिनिधिसभाको सदस्य भएको हुँ। अब म दलको भन्दा राष्ट्रको सभामुख भएकाले यो गरिमामय पद र यसको जिम्मेवारी निर्वाह गरिरहँदा राजनीतिक दलमा सहभागी भएकै कारण सभाको मर्यादामा आँच आउन दिने छैन’, सभामुख अर्यालले भने। उनले सबैको सुझावलाई तटस्थ रूपमा कार्यान्वयन गर्दै सभामुख निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताए।

सभामुख अर्यालले सांसद सङ्ख्याका आधारमा कुनै भेदभाव नहुने बताउँदै सांसद सबैबाट सभा सञ्चालनका लागि क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गरे। संसद्‌मा जनताको प्रतिनिधित्व गरेर आएका कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव नहुने उनको भनाइ छ।

‘हामीले गर्ने प्रत्येक निर्णय र गतिविधि जनताले नजिकबाट अवलोकन गरिरहेका छन्। निर्वाचित प्रतिनिधिलाई जनताले जिताएर पठाएका छन्। सबैले आफ्नो दायित्व आमनागरिकप्रति इमानदार भएर निर्वाह गर्नुपर्छ’, सभामुख अर्यालले भने। उनले हरेक नेपाली नागरिकले संसद्‌मा हुने छलफल र यहाँका गतिविधिमा आफ्नो सहभागिता रहेको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

सभामुख अर्यालले नयाँ कानुन निर्माण गर्नुभन्दा पहिला बनेका, हाल विद्यमान ऐन कानुनको समीक्षा र पुनरावलोकन गरी कुन कुन कानुन खारेज गर्ने, कुन कुन कानुनलाई एकीकृत गर्ने भन्नेबारेमा अध्ययन पुनरावलोकनसहित कानुनको निर्माणमा जुट्न सबैलाई आग्रह गरे।

‘परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्त्वपूर्ण कानुन निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी छन्। त्यसैले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै माननीय सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य छ, संसद्लाई निष्क्रिय होइन, कार्यसम्पादनको केन्द्र बनाउनु आवश्यक छ।’

बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत जाहेर हुने भएकाले सबै दलहरूसँगको समन्वयमा संसद्को गरिमा उच्च राख्ने प्रतिबद्धता उनले जनाए। उनले संसद्‌मा उपस्थित राजनीतिक दल र सबै सदस्यबाट असल संवैधानिक अभ्यास हुने विश्वास पनि व्यक्त गरे। रासस

प्रकाशित: २४ चैत्र २०८२ ०६:३९ मंगलबार