सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबिडी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा सञ्चार क्षेत्रको विकास, सामुदायिक रेडियोको भूमिका, सञ्चारसम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलनको तयारीबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र यस्ता सम्मेलनले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमा हुने सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे बहस गर्ने अवसर सिर्जना गर्नुका साथै सरकारले अघि बढाएको सञ्चार कानुन सुधार प्रक्रियामा उपयोगी सुझाव प्राप्त हुने बताए।
उनले सञ्चार क्षेत्र पछिल्लो दशकमा तीव्र रूपमा परिवर्तन भएको उल्लेख गर्दै नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनको प्रक्रियामा सम्मेलनबाट प्राप्त सुझाव नीतिनिर्माणका लागि महत्वपूर्ण हुने बताए। मन्त्री तिमिल्सिनाले नेपालमा सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि र लोकतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान दिएको बताए। रेडियो र टेलिभिजनले नागरिक सहभागिता बढाउन तथा उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्न प्रभावकारी भूमिका खेलेको उनको भनाइ थियो।
उनले सञ्चार क्षेत्र आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण र विश्वसनीयता जस्ता चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए। नागरिक पत्रकारिता र डिजिटल माध्यमको विस्तारसँगै मुख्यधारका सञ्चारमाध्यमको विश्वसनीयता, व्यावसायिकता र दिगोपनमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए।
नेपालमा हुने एआईबिडीको २४औँ सम्मेलन सफल बनाउन सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री तिमिल्सिनाले जनाए।
एआईबिडीकी सिइओ फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै प्रभावकारी सञ्चार माध्यम रहेको बताउँदै नेपालको सामुदायिक रेडियो अभियानले ठूलो जनसमुदायसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
उनले मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको र रेडियो तथा टेलिभिजनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानव अधिकार तथा समसामयिक सामाजिक विषयलाई प्रभावकारी रूपमा उठाइरहेको बताइन्। विपद्को समयमा पूर्वसूचना र विश्वसनीय जानकारी प्रवाहमा विद्युतीय सञ्चार माध्यमको भूमिका अझै महत्वपूर्ण रहेको उनको भनाइ थियो।
एआईबिडीले सदस्य राष्ट्रबीच प्रसारण क्षेत्रका नीति, प्रविधि र अनुभव आदानप्रदानमा काम गर्दै आएको उल्लेख गर्दै उनले काठमाडौं सम्मेलनले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
भेटमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरीसहित पदाधिकारीहरूले सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा जोड्ने र स्थानीय तहमा सूचना प्रवाह गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
प्रकाशित: १३ श्रावण २०८३ १२:५६ बुधबार