नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले महाधिवेशन प्रतिनिधिहरूले आफूमाथि गरेको भरोसा र विश्वासलाई रत्तिभर डगमगाउन नदिने प्रण गरेका छन्।
एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा सर्वाधिक मतसहित विजयी भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै गुरुङले यो जितलाई व्यक्तिगत विजयभन्दा पनि गह्रौं जिम्मेवारीका रूपमा लिएको बताए।
उनले इमानदारिता र पार्टी एकताका पक्षमा लाग्नेहरूलाई कार्यकर्ताले न्याय गर्छन् भन्ने कुरा निर्वाचन परिणामले पनि पुष्टि गरेको दाबी गरे।
समाजमा राजनीतिप्रति वितृष्णा र युवा पुस्तामा निराशा बढिरहेको सन्दर्भ कोट्याउँदै गुरुङले आफूलाई प्राप्त भारी मतले पार्टीलाई अझ गतिशील र जनमुखी बनाउन खबरदारी गरेको महसुस गरेको उल्लेख गरेका छन्।
उनले तीन बुँदे प्रण गर्दै लेखेका छन्, ‘तपाईंहरूको यो विश्वासलाई रत्तिभर डगमगाउन दिने छैन। अबको मेरो सम्पूर्ण ध्यान पार्टीलाई विधि र पद्धतिमा चलाउँदै देशको समृद्धि र जनताको खुसीसँग जोड्नमा केन्द्रित हुनेछ। यो विजयको उल्लासलाई मैले कर्तव्यको कठोर परीक्षाका रूपमा लिएको छु।’
उपाध्यक्ष गुरुङले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा खारिएको पार्टी भएको भन्दै हारजितलाई स्वाभाविक रूपमा लिन आग्रह गरेका छन्। उनले निर्वाचित नहुने साथीहरूलाई सानो चित्त नगर्न र जित्नेहरूलाई दम्भ नपाल्न सुझाव दिएका छन्।
‘यो लोकतान्त्रिक अभ्यासमा नतिजा जे आए पनि हामी सबै यही पार्टीका सिपाही हौं,’ गुरुङले भनेका छन्, ‘सबैको योग्यता र क्षमता अनुसार उचित जिम्मेवारी बाँडफाँड हुनेछ। हामी सबै मिलेर पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउनेछौं।’
प्रकाशित: ३ पुस २०८२ २१:२७ बिहीबार