राजनीति

राजीनामापछि मन्त्री गुप्ता भन्छन् : प्रविधिको उच्चतम् प्रयोगको सिकार अब अरू कोही नबनुन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रविधिको उच्चतम् प्रयोगको सिकार आफू भएको बताएका छन्। सामाजिक सञ्जालमा घुस प्रकरणको अडियो सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिन दबाब परेको थियो। उनले सार्वजनिक अडियोमा आफ्‍नो आवाज नभएको दाबी गर्दै आएका छन्।

मन्त्री पदबाट राजीनामा दिएलगत्तै मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले कहिले काहिँँ आफूले नखाएको बिष पनि लाग्दो रहेछ भन्दै अहिले त्यसैको शिकार भएको बताए। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कहिले काहिँँ नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको सिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु।'

आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका छन्। गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको बताए।

उक्त प्रकरणमा प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए। 

यो पनि पढ्नुहोस्

नखाएको बिष पनि लाग्दो रहेछ भन्दै मन्त्री गुप्ताद्वारा राजीनामा घोषणा

 

प्रकाशित: ३१ असार २०८२ ११:४१ मंगलबार

#Raj kumar Gupta #NagarikNews