राजनीति

हिजो अध्यक्षज्यूको मन्तव्यपछि केही मित्रहरू कुइँकुइँ गर्न थाले : बस्नेत

'आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो'

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेभित्र दुई प्रवृत्ति देखिएको बताएका छन्।

पहिलो प्रवृत्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिने आम पंक्ति र अर्को गुटबन्दी तथा खुरापाती गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने, पार्टी कार्यालयको चौरको घाँस माड्ने अनि क्यान्टिनको चियाको कपमा क्रान्तिको आँधीबेहरी सिर्जना गर्ने रहेको बताए।

उनले हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरूलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्दै सुनिन थालेको व्य‌ंग्य गरे।

'नेकपा एमालेभित्र दुई प्रवृत्ति देखिन्छन्। पहिलो प्रवृत्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिने आम पंक्ति। अर्को, सानो घेराको पंक्ति जो गुटबन्दी गर्ने, खुरापाती गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने, पार्टी कार्यालयको चौरको घाँस माड्ने अनि क्यान्टिनको चियाको कपमा क्रान्तिको आँधीबेहरी सिर्जना गर्ने!' बस्नेतले सामाजिक सञ्जलामा लेख्दै भने, 'हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरूलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ।'

सोही क्रममा उनले आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने नभइ पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने भएको बताए। कुरा काटेर नभइ जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढ्ने सुझाव समेत दिए।

उनले भने, 'आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो। कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढने हो।'

प्रकाशित: ३१ श्रावण २०८३ १०:३८ आइतबार