राजनीति

कारबाहीपछि विश्वले भने- विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिन्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब सही नेतृत्व पनि प्रदान गर्ने दाबी गरेका छन्।

संस्थापन पक्षले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले यस्तो बताएका हुन्।

उनले कारबाहीको निर्णयका बाबजुद आफू र अर्का महामन्त्री गगन थापा कांग्रेस र देशलाई बदल्ने प्रयासमा विचलित नभई दृढ रहेको स्पष्ट पारेका छन्।

शर्माले भनेका छन्, ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ !’

शर्माले बुधबार बिहान मात्रै सहमतिका लागि संस्थापन पक्षसमक्ष ८ बुँदे प्रस्ताव राखेको बताए।

उनले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने, प्रधानमन्त्रीको उम्मेदवार अग्रिम घोषणा गर्ने र टिकट वितरणमा सभापतिले हस्तक्षेप गर्न नहुने लगायतका प्रस्ताव राखेका थिए।

आफ्नो प्रस्ताव जायज रहेको जिकिर गर्दै शर्माले प्रश्न गरेका छन्- ‘सहमतिका लागि प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’

उनले आफूहरूले उठाएका एजेन्डा देश र पार्टीको हितमा रहेको भन्दै परिवर्तनको पक्षमा उभिन कार्यकर्तालाई सन्देश समेत दिएका छन्।

यस्तो थियो ८ बुँदे प्रस्ताव

१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने l

२) विशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने l

३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने

४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने

५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने

६) कुनैपनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने l

७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने l

८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने l जसमा - कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने l

प्रकाशित: ३० पुस २०८२ १६:३७ बुधबार