राजनीति

रविले दलित समुदायसँग माफी मागेपछि खगेन्द्रले भने- शिर उच्च भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सदनबाट सरकारले दलित समुदायसँग माफी माग्नु ऐतिहासिक र सुखद क्षण भएको बताएका छन्।

बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेले रोस्ट्रमबाटै आफ्नो नाम लिएर दलित समुदायसँग माफी मागेकोमा आभार व्यक्त गरे।

‘वर्षौंदेखि शिर झुकाएर बसेका दलित समुदायको शिर आज नेपाल र अन्तर्राष्ट्रिय जगतमा उच्च भएको छ,’ सांसद सुनारले भने, ‘६० लाख दलितमाथि भएको अन्याय अब न्यायमा रूपान्तरित हुँदैछ। राज्यले आफ्नो गल्ती महसुस गर्दै माफी माग्नु र आगामी दिनमा यस्तो नदोहोर्‍याउने प्रतिबद्धता जनाउनु विश्वभर नै प्रशंसाको विषय बन्नेछ।’

सडकबाट सदनसम्मको आफ्नो यात्रालाई स्मरण गर्दै उनले हिजोका दिनमा सडकमा नेल र हतकडी लगाएर न्यायको भिख माग्ने आफू आज संसदको गरिमामय कुर्सीमा पुगेको सुनाए।

उत्पीडनमा परेका र उपेक्षामा पारिएका नागरिकको आवाजको प्रतिनिधित्व गर्दै आफू संसदमा आइपुगेको र देशलाई संकटबाट पार लगाउन दत्तचित्त भएर लाग्ने उनले प्रण गरे।

प्रकाशित: १९ चैत्र २०८२ २०:०३ बिहीबार