राजनीति

लालबाबुले भने: यस्तै रहे सरकार फेरिएपिच्छे प्रधानमन्त्री र गृहमन्त्री पक्राउ पर्छन्

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु प्रतिशोधको राजनीति भएको बताएका छन्। 

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्नुले देशमा गलत नजिर स्थापित हुने चेतावनी समेत दिए।

सरकारको यो कदमले भविष्यमा सरकार परिवर्तन हुनासाथ पूर्वप्रधानमन्त्री र गृहमन्त्रीहरू पक्राउ पर्ने शृंखला सुरु हुने उनको दाबी थियो। ‘भविष्यमा यही तरिकाले जाने हो भने कुनै पनि प्रधानमन्त्री र गृहमन्त्री सरकार परिवर्तन हुनासाथ पक्राउ पर्ने र प्रतिशोधको सामना गर्नुपर्ने स्थिति आउँछ,’ पण्डितले भने, ‘यसको सुरुवात नै गलत तरिकाले भएको छ।’

राजनीतिक संवादमार्फत देशका प्रमुख समस्याको निकास खोज्नुपर्ने बेलामा सरकारले दुर्भाग्यपूर्ण बाटो रोजेको उनको भनाइ छ। वर्तमान सरकारले सुशासनको नाममा दमन र पूर्वाग्रहपूर्ण कदम चालेको पण्डितले आरोप लगाए।

‘सुशासनको यो सुरुवात नै अहिलेको सरकारले प्रतिशोध र दमनबाट सुरु गरेको हुनाले यसप्रति मेरो घोर विरोध र निन्दा छ,’ उनले थपे, ‘सरकारको पहिलो निर्णय र पहिलो कार्यान्वयन नै पूर्वाग्रहपूर्ण छ, यो प्रतिशोधको राजनीतिको सुरुवात हो।’

जनताले अहिले देशमा शान्ति, स्थिरता, सुशासन, विकास र प्रगति चाहेको उल्लेख गर्दै उनले सरकार जनचाहनाविपरीत दमन र बदलाको भावनामा उत्रिएको भन्दै असन्तुष्टि पोखे।

प्रकाशित: १४ चैत्र २०८२ १४:५२ शनिबार