हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि आफू उनको सट्टा जेल बस्न तयार रहेको बताएका छन्।
आइतबार नख्खु कारागारमा लामिछानेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुनारले देशलाई रवि लामिछानेजस्तो नेतृत्वको आवश्यकता रहेको भन्दै कानुनले मिल्ने भए आफू जेल गएर लामिछानेलाई बाहिर निकाल्न चाहेको बताएका हुन्।
‘म निर्वाचन आयोगले प्रमाणपत्र दिएको एउटा पार्टीको सभापति हुँ, यदि कोही मान्छे भित्र बसिदिएर रवि लामिछानेलाई छोड्न मिल्छ भने म रविको ठाउँमा गएर जेल बस्दिन तयार छु,’ सुनारले भने, ‘मलाई भित्र राखेर रविलाई छोड्न मिल्छ भने छोड्दिनुस्।’
सुनारले रवि लामिछानेमाथि कांग्रेस र एमालेले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए। उनले देशको वर्तमान कानुन र अदालतको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘अदालतको कानुनले रवि लामिछानेलाई सेक्ने, अनि त्यही अदालतको कानुनले कांग्रेस-एमालेलाई नदेख्ने ? यो कस्तो खालको कानुन हो श्रीमान् ?’
उनले गगन थापा र आरजु राणा देउवातर्फ इङ्गित गर्दै उनीहरूले गरेका कामकारबाहीमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
सुनारले भने, ‘गगन थापा र आरजु देउवाहरूले गरेको बदमासीका विरुद्धमा पनि छानबिन हुनुपर्छ र उनीहरूले गरेको अपराधका बारेमा पनि सजाय हुनुपर्छ।’
आगामी निर्वाचन र देशको राजनीतिक भविष्यका लागि नयाँ र वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा सुनारले जोड दिए। उनले अहिले फरक–फरक बाटोमा देखिए पनि गन्तव्य एउटै भएको उनको तर्क थियो।
‘अहिले उहाँहरू बागमतीबाट बगिरहनुभएको छ, हामी कर्णालीबाट बगेका छौँ। नदी दुई तिरबाट बगे पनि दोभानमा भेट हुन्छ, सागरमा पुग्ने बेला भेट हुन्छ,’ उनले भने।
सहकारी ठगी प्रकरणको आरोपबारे बोल्दै सुनारले यदि लामिछानेले साँच्चै नियतवश रकम अपचलन गरेको भए कानुन बमोजिम हुने तर अहिलेको अवस्था हेर्दा फसाउने नियत देखिएको बताए।
उनले अन्य ठूला दलका नेताहरूतर्फ लक्षित गर्दै भने, ‘ठगेर गएका मान्छेहरू, सम्बन्ध विच्छेद गरेका श्रीमतीहरू लिएर ढल्की–ढल्की बिहेको पार्टीमा नाच्दै हिँड्न मिल्ने, अनि रवि लामिछानेलाई चाहिँ यसरी सेक्न मिल्छ ?’
अहिले देश संकटमा रहेको र जनतामा निराशा छाएको भन्दै सुनारले यो संकटबाट पार लगाउन रवि लामिछाने जस्तो ‘होनहार’ नेतृत्वको खाँचो रहेको औँल्याए।
उनले जनतालाई एकपटक ‘हत्यारा र भ्रष्टाचारी’ हरूको अनुहार हेर्न र अन्तिम पटक खबरदारी गर्न अपिल समेत गरे।
प्रकाशित: २१ मंसिर २०८२ १६:०४ आइतबार



