कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर नेकपा एमालेभित्र देखिएको विवाद तत्कालका लागि साम्य भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने निर्णय गरेपछि नेतृत्व परिवर्तनको बहस तत्काल टुंगिएको हो।
मुख्यमन्त्री परिवर्तनको विषयमा पार्टी अध्यक्षको निर्देशन कार्यान्वयन गराउन भन्दै एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई केही दिनदेखि विराटनगरमा सक्रिय थिए। उनले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर कार्कीले राजीनामा नदिने र यसबारे अन्तिम निर्णय पार्टीले गर्नुपर्ने अडान राखेपछि विषयले थप विवादको रूप लिएको थियो।
गत शनिबार विराटनगरस्थित बिग होटलमा मुख्यमन्त्री कार्की र प्रदेश इन्चार्ज राईबीच दिनभर छलफल भए पनि सहमति जुट्न सकेन। दुवै नेता एमालेका सचिव भएकाले नेतृत्वको विषयमा देखिएको मतभेदले प्रदेशका सांसदहरू समेत विभाजित हुने अवस्था सिर्जना भएको थियो।
विवाद समाधानका लागि प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्ज, मुख्यमन्त्री र सांसदहरूको बैठक बोलाइए पनि सांसदहरूलाई पार्टीभित्रका विषय बाहिर सार्वजनिक नगर्न निर्देशन दिँदै बैठक टुंग्याइएको थियो। बैठकपछि समस्या समाधानको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिने सहमति भएको जनाइएको थियो।
यसैबीच, मुख्यमन्त्री कार्कीलाई पार्टी अध्यक्ष ओलीले गुण्डुमा बोलाएर छलफल गरेका थिए। त्यसक्रममा कोशी प्रदेशका पदाधिकारीबाट प्रदेशको समग्र अवस्थाबारे ब्रिफिङ लिएपछि ओलीले मुख्यमन्त्रीसँग थप परामर्श गरेका थिए। मंगलबार कुनै निष्कर्ष ननिस्किएपछि बुधबार पुनः प्रदेश पदाधिकारी र मुख्यमन्त्रीलाई छलफलका लागि बोलाइएको थियो।
यद्यपि, मुख्यमन्त्री परिवर्तनको पहलमा सक्रिय रहेका प्रदेश इन्चार्ज राई भने ती छलफलमा सहभागी भएनन्। प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आवश्यक परे बुधबार बिहान छलफलमा सहभागी हुन सक्ने बताएका भए पनि राई बैठकमा उपस्थित भएनन्।
बुधबार साँझ सम्पन्न छलफलपछि पार्टी अध्यक्ष ओलीले तत्काल मुख्यमन्त्री परिवर्तन नगर्ने निर्णय लिएसँगै विवाद साम्य भएको हो। त्यसपछि मुख्यमन्त्री कार्कीसहित एमाले कोशी प्रदेशको टोली बिहीबार काठमाडौंबाट विराटनगर फर्किएको छ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई सहभागी गराउने तयारीका विषयमा छलफल अघि बढाइने जानकारी दिएका छन्।
यता, पार्टी नेतृत्वसँगको छलफलपछि टोली विराटनगर फर्किएलगत्तै प्रदेश इन्चार्ज शेरधन राईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री परिवर्तन आफ्नो व्यक्तिगत चाहना नभई पार्टीको नीति, विधि र केन्द्रीय नेतृत्वको निर्देशन कार्यान्वयनको प्रक्रिया मात्र भएको स्पष्ट पारेका छन्।
राईले साउन ९ गते सत्ता साझेदार दलहरूबीच भएको तीनबुँदे सहमतिलाई अक्षरशः कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा देखिएको जटिलता समाधान गर्न आफूले विभिन्न तहमा छलफल गरेको बताएका छन्।
उनले आफू काठमाडौं नगई प्रदेशमै हस्ताक्षर अभियान चलाएको तथा पार्टी अध्यक्षले गुण्डु बोलाएको भन्ने प्रचारलाई पूर्ण रूपमा असत्य, गैरजिम्मेवार र भ्रामक हल्ला भएको दाबी गरेका छन्। साथै प्रदेश अध्यक्ष र सचिव नियमित कामका सिलसिलामा काठमाडौं जाँदा पार्टी अध्यक्षसँग भेटघाट र संवाद भएको मात्र बताएका छन्।
आफ्नो निष्ठा र मर्यादामाथि प्रहार गर्ने उद्देश्यले अफवाह फैलाइएको भन्दै राईले त्यसप्रति खेद व्यक्त गरेका छन्। उनले आफू पार्टीको अनुशासित सिपाही भएको उल्लेख गर्दै कोशी प्रदेशको पहिलो मुख्यमन्त्री रहँदा पनि पार्टीको निर्देशनअनुसार सहज रूपमा नेतृत्व हस्तान्तरण गरेको इतिहास स्मरण गराएका छन्।
राईले पार्टीको विधि, निर्णय र नेतृत्वको निर्देशन सधैँ शिरोधार्य गर्दै आएको उल्लेख गर्दै पार्टी पङ्क्ति, जनप्रतिनिधि तथा आम नागरिकलाई कुनै पनि प्रायोजित भ्रम र अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
प्रकाशित: २१ श्रावण २०८३ १७:२७ बिहीबार



