राजनीति

मन्त्रीका लागि कोठा खोज्न कर्मचारीलाई चटारो

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै आवासको व्यवस्था गर्न निर्देशन दिएपछि मन्त्रालयका कर्मचारीहरू उनको लागि उपयुक्त कोठाको व्यवस्थापनमा जुटेका छन्।

मन्त्री पुनले आफ्नो सम्पूर्ण समय मन्त्रालयको काममा समर्पित गर्ने भन्दै मन्त्रालयमै बस्ने, खाने र सुत्ने व्यवस्था मिलाउन सचिव चुडामणि पौडेललाई निर्देशन दिएका थिए।

यो निर्देशनपछि मन्त्रालयका उच्च अधिकारीहरू मंगलबार बिहानैदेखि केशरमहलस्थित मन्त्रालयका विभिन्न कोठाहरूको अवलोकनमा व्यस्त देखिएका छन्।

प्रशासन महाशाखाकी प्रमुख एवं सहसचिव अनिता निरौलाले मन्त्री र उनको सुरक्षा गार्डका लागि सुरक्षित र व्यवस्थित कोठाको खोजी भइरहेको बताइन्।

‘मन्त्रीज्यूले मन्त्रालयमै बसेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ,’ सहसचिव निरौलाले भनिन्, ‘हामीले केशर पुस्तकालयको लेखा शाखा रहेको कोठालाई खाली गराएर व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएका छौं।’ उनका अनुसार, मंगलबार बेलुकासम्म खाट ल्याएर कोठा तयार पारिनेछ।

मन्त्री पुनको कार्यकक्ष भने केशर शमशेरले प्रयोग गर्ने गरेको चन्दनको ढोका भएको कोठामा व्यवस्थापन गरिएको छ। मन्त्रालयले उनको लागि भान्छा र खाना पकाउने व्यक्तिको पनि व्यवस्था गरेको छ। यद्यपि, पुनले आफैं खाना बनाउने इच्छा देखाए पनि व्यस्तताका कारण मन्त्रालयले नै भान्छेको व्यवस्था गर्ने तयारी गरेको हो।

No description available.

मन्त्रालयका कर्मचारीहरूले विगतमा कुनै पनि मन्त्री मन्त्रालयमै बसेको अनुभव नभएको बताएका छन्। १८ वर्षदेखि मन्त्रालयमा कार्यरत जगेस चौधरीले आफूले ६-७ जना शिक्षा मन्त्रीको लागि खाजा बनाए पनि कोही मन्त्रालयमा नबसेको सुनाए। ‘महावीर पुनज्यूले मन्त्रालयमै बस्ने भन्नुभएको छ, अब कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने खोजी भइरहेको छ,’ उनले सुनाए।

त्यसैगरी, २० वर्षदेखि मन्त्रालयमा कार्यरत दुर्गा दहालले आफूले १२ जना शिक्षा मन्त्रीसँग काम गरेको तर कोही पनि मन्त्रालयमा बसेको थाहा नभएको बताए। ‘अब मन्त्रीज्यू यहीँ बस्नुभएपछि हामी उहाँलाई सक्दो सहयोग गर्नेछौं,’ उनले भने।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुन आफ्नो कार्यक्षेत्रमा नै बसेर काम गर्ने शैलीका लागि परिचित छन्। सम्बन्धित ठाउँमै बसेर काम गर्दा उपलब्धीमूलक र नतिजामुखी काम हुने उनको विश्वास छ।

पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएको हुन्। सरल जीवनशैलीका लागि परिचित उनले मन्त्री क्वार्टर र सरकारबाट प्राप्त हुने अन्य सेवा सुविधा नलिने घोषणा गरिसेका छन्।

यसैगरि, प्राविधिक महाशाखाका यादव चन्द्र निरैलाका अनुसार अहिले एउटै कोठामा पाँच वटा महाशाखाका शाखाहरु चलाइएको छ। ’हालको परिस्थितिमा पनि हामीले सबै शाखाहरुलाई एकै कोठामा राखेर संचालन गरिरहेका छाैं, कुनै काम रोकिएको छैन्।’ उनले भने।

प्रकाशित: ७ आश्विन २०८२ १५:०८ मंगलबार