राजनीति

४५ वर्ष सक्रिय राजनीतिपछि कांग्रेस नेता केसीले भनेः अब चुनाव लड्दिनँ

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले चुनावी राजनीतिबाट बिदा लिने निर्णय गरेको बताएका छन्।

नागरिकसँगको कुराकानीमा केसीले आफ्नो निर्णय जेनजी आन्दोलन वा परिस्थितिजन्य दबाबका कारण नभई विगतमा तयार गरेको व्यक्तिगत निर्णय भएको बताए। ‘यो मेरो व्यक्तिगत विचार र निर्णय हो। पार्टीले चुनावमा जानु वा नजानु भनेर केही भनेको छैन। मैले अघिल्लो चुनावमा यो मेरो अन्तिम निर्वाचन हो भनेर मत मागेको थिएँ। त्यसै अनुसार अब प्रतिनिधिसभाको निर्वाचन नलड्ने निर्णय गरेको हुँ। प्रतिनिधिसभाको चुनावमा नगए पनि बाँकी सबै कुरामा म क्रियाशील भएर लाग्नेछु।’ उनले भने।

२०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाड्ने तयारीमा छन्। उनी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए। 

२०४३ सालको निर्वाचनमा पराजित भए पनि सोही अवधिमा जिल्ला पञ्चायत सभापति भएका थिए। त्यसपछि २०४८ सालदेखि भएका छ वटा निर्वाचनमा राजनीतिक यात्राको लामो अनुभव गरेका छन्।

प्रकाशित: ५ पुस २०८२ १३:५८ शनिबार