वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्या फेरबदल नभई एउटै छ। एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सात पटक भएको निर्वाचनमा निरन्तर शेरबहादुर देउवा निर्वाचित भए। उनले कहिले पराजयको स्वाद चाख्न परेन। साढे तीन दशकमा डडेल्धुरामा देउवा निर्विकल्प बनिरहे।
डडेल्धुराबाट अविजित हुँदै लगातार निर्वाचित देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री बन्न सफल भए। देउवाले निर्वाचन नलड्ने भएपछि उनको संसदीय यात्रा रोकिएको छ भने डडेल्धुराले अगामी फागुन २१ गते ३४ वर्षपछि नयाँ जनप्रतिनिधि पाउने भएको छ।
देउवाले निर्वाचन नलडेकाले ३४ वर्षपछि डडेल्धुराको जनप्रतिनिधि छानिने सौभाग्य कसलाई जुर्ला?
डडेल्धुराबाट नेपाली कांग्रेसबाट नैन सिंह महर चुनाव लड्ने भएका छन्। उनी नेपाली कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य तथा नेविसंघको पूर्वअध्यक्ष समेत हुन्।
यस्तै, नेकपा एमालेबाट चक्रबहादुर स्नेही चुनाव लड्ने भएका छन्। उनी पूर्व राष्ट्रियसभा सदस्य हुन्। नेकपाबाट मान सिंह मालले टिकट पाएका छन्। रास्वपाबाट डा.तारा जोशी चुनाव लड्ने भएका छन्। डडेल्धुरामा स्वतन्त्रबाट प्रदेशसभा सदस्य जितेका उनी राजीनामा दिएर चुनाव लड्न थालेका हुन्।
डडेल्धुरामा २०४६, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएको निर्वाचनमा देउवा निर्वाचित भएका थिए।
प्रकाशित: ६ माघ २०८२ १०:१४ मंगलबार



