राजनीति

अभिनेत्री अधिकारीको चुनावी खर्च ७ लाख ७६ हजार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारीले चुनाव खर्च तथा आम्दनी विवरण सार्वजनिक गरेकी छन्। 

जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको विवरणमा उनले चुनावी खर्च ७ लाख ७६ हजार ९२१ रुपैयाँ भएको उल्लेख गरिन्।

उनको सबैभन्दा बढी खर्च सामाजिक सञ्जाल विज्ञापन र डिजाइनमा भएको कार्यालयमा बुझाइएको खर्च विवरणमा उल्लेख छ। यो शीर्षकमा २ लाख ५० हजार रूपैयाँ खर्च भएको छ। 

त्यस्तै, स्वयंसेवकको खाजा, खाना, यातायात खर्च र निर्वाचन कार्यक्रम लगायत शीर्षकमा १ लाख २९ हजार ७०७ रूपैयाँ र कार्यालय संचालनमा १ लाख १७ हजार रूपैयाँ खर्च भएको उल्लेख गरेकी छन्। 

अर्कोतर्फ उनले आम्दनीको स्रोत तथा प्राप्त रकम पनि खुलाएकी छन्। गतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट २ लाख, २४ जनाबाट प्राप्त व्यक्तिगत सहयोग ५ लाख ४९ हजार ६७ र उम्मेदवारको तर्फबाट २७ हजार ८८५ रुपैयाँ देखाएकी छन्।

उनले चुनावी अभियान सञ्चालन गर्दा सकेसम्म कम खर्च गरेको सञ्जालमा लेखेकी छन् । ‘म, नीशा अधिकारी, गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ को उम्मेदवार भई चुनावी अभियान सञ्चालन गर्दा सकेसम्म कम खर्चिलो, तडकभडक बिना र पारदर्शी हिसाबले अभियान चलाउने प्रयास गरेको थिएँ।’

आफूले ठुलो खर्च र प्रदर्शनभन्दा बढी र नागरिकसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिइएको भन्दै थपिन्–‘यस अभियानमा ठूलो खर्च र प्रदर्शनभन्दा पनि एजेण्डा, संवाद र नागरिकसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिइएको थियो। घरदैलो, साना भेटघाट र खुला छलफलमार्फत राजनीति गर्ने प्रयास गरिएको थियो।’ 

अधिकारी हाल चलचित्र ‘कस्तुरी’को छायांकनमा व्यस्त छिन्।

प्रकाशित: ३० फाल्गुन २०८२ १२:४६ शनिबार