राजनीति

आन्तरिक विवाद स्वीकार्दै रविले भने: विवाद हुन सक्छ, तर सडकमा होइन पार्टीभित्रै समाधान गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र मतभेद, विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन्। तर उनले यस्ता विषयलाई सार्वजनिक विवाद वा सडकको मुद्दा नबनाई संगठनभित्रै समाधान गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

मंगलबार भरतपुरमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक दलभित्र फरक मत स्वाभाविक भए पनि त्यसले पार्टीको मूल उद्देश्य र जनविश्वासलाई कमजोर पार्न नहुने बताए।

उनले पार्टीलाई विश्वास गरेर मत दिएका नागरिकप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकारको गुटबन्दी र शक्ति केन्द्रित अभ्यासबाट टाढा रहन निर्देशन दिए।

लामिछानेले आन्तरिक असहमति र छलफललाई संगठनको प्रक्रियाभित्रै व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई व्यक्तिगत समूहभन्दा साझा लक्ष्यमा केन्द्रित बनाउनुपर्ने धारणा राखे।

उनको भनाइमा, रास्वपाको शक्ति आन्तरिक एकता, अनुशासन र परिवर्तनको अपेक्षा बोकेका नागरिकको विश्वासमा आधारित भएकाले त्यसलाई कमजोर बनाउने गतिविधिबाट सबै सचेत हुन आवश्यक छ।

 

प्रकाशित: ९ असार २०८३ १६:१५ मंगलबार