राजनीति

गगनको गढमा रास्वपाका पुकार बमको सानदार जित

काठमाडौं क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम फराकिलो मतान्तरसहित विजयी भएका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाको परम्परागत गढ मानिने यस निर्वाचन क्षेत्रमा पुराना दलहरूलाई पन्छाउँदै बमले ऐतिहासिक जित दर्ता गराएका हुन्।

अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार बमले २९ हजार १ सय ४२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमलसेनाले ८ हजार ८ सय २४ मत मात्र ल्याउन सके। विजयी बम र कांग्रेस उम्मेदवार तिमलसेनाबीचको मतान्तर २० हजार ३ सय १८ रहेको छ।

विगतका निर्वाचनहरूमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन थापा निरन्तर विजयी हुँदै आएका थिए। थापाको बलियो पकड रहेको क्षेत्रमा यसपटक कांग्रेसले फराकिलो हार व्यहोर्नुपरेको छ।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका नेता राजन भट्टराईको अवस्था पनि निकै दयनीय देखिएको छ। तेस्रो स्थानमा खुम्चिएका एमाले उम्मेदवार भट्टराईले जम्मा ५ हजार ७ सय ३३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, अन्य साना दलहरूको उपस्थिति पनि निकै कमजोर रह्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुरेन्द्रराज भण्डारीले २ हजार २५ मत हासिल गरेका छन्।

त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार झनकबहादुर अधिकारी जम्मा ८ सय ९५ मतसहित पाँचौं स्थानमा रहेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०४:५१ शनिबार