राजनीति

बालेनलाई असफल बनाउन तानाबाना बुनिँदैछ: प्रभु साह

फाइल तस्बिर

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् ।  

सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ ।

आज (शुक्रबार) रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताएका हुन् ।

रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको आरोप छ ।

उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पूनः धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने उनको भनाई छ ।

पूर्वमन्त्री साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेकोले त्यसप्रति सजग हुन सुझाव दिएका छन् । रास्वपाको पार्टी पङ्क्ति अहिले चुनावमुखी मात्रै भएको र देशको बारेमा उनीहरुलाई कुनै चिन्ता नभएको पनि उनको आरोप छ ।

आजपा अध्यक्ष साहले भने,‘घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरुबाट सचेत हुनुपर्छ ।’

रास्वपामा रवि लामिछानेसमर्थित घण्टी कार्यकर्ताहरु उग्र रहेको र सामाजिक सञ्जाल नै दुषित बनाएको साहको टिप्पणी छ । साहका अनुसार घण्टीका कार्यकर्ताहरुलाई सामाजिक सम्बन्धको महत्व थाहा नभएकोले सञ्जालमा फोहोरी गालीगलौज गर्ने गरेका छन् ।

प्रकाशित: ६ कार्तिक २०८३ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App