राजनीति

महिलाप्रति गलत दृष्टिकोण भएको व्यक्तिलाई प्रतिष्ठानको उपकुलपति बनाइयो : सांसद लिम्बु

एमाले सांसद भूमिका लिम्बुले प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरिएकोमा विरोध जनाएकी छिन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महिलाप्रति गलत दृष्टिकोण भएको व्यक्तिलाई उपकुलपति बनाइएको भन्दै आपत्ती जनाएकी हुन्।

दरखास्तमा पारदर्शीता नभएको भन्दै उनले देशकै भाषा–संस्कृतिको संरक्षणको जिम्मेवारी पाएको निकायको नेतृत्व गर्ने व्यक्तिको नैतिक आचरण हेरिनुपर्ने बताइन्।

‘अघिल्लो सरकारले गरेका नियुक्तिहरु अध्यादेशबाट खरेज गरियो र योग्य ल्याउने भनियो। तीन महिनाअघि दरखास्त आह्वान गरियो। तर सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नाम संकलन गर्यो। एकैपटक र नियुक्ती पाएकाहरुको सूची सार्वजनिक गराइयो’ उनले भने।

उनले आवेदकहरुको सर्ट लिस्टको माग गर्दै आफ्नै मान्छे ल्याउनलाई सरकारले दरखास्तको नाटक गरेको आरोप लगाइन्। ‘सरकारले महिलाप्रतिको सोच, दृष्टीकोण र सार्वजनिक भाषाशैलीमाथि नैतिक प्रश्न उठेको व्यक्तिलाई उपकुलपति बनाउनु आफैंमा गम्भीर नैतिक प्रश्न हो, उनले भनिन्,‘ कुलपति बन्न प्राज्ञिक मात्र भएर पुग्ने कि नैतिक आचरण पनि सुद्द हुनु पर्छ?’

प्रकाशित: २ भाद्र २०८३ १३:४८ मंगलबार