राजनीति

‘सहिद गाउँमा’ जीवितकै सालिक !

रुकुम पूर्वको भूमे गाउँपालिका–६ स्थित महत गाउँ तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा बढी मानवीय क्षति बेहोरेका गाउँहरूमध्ये एक हो। द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षको चेपुवामा परेको महत गाउँको कथा दर्दनाक छ। महत गाउँलाई द्वन्द्वका बेला ‘सहिदहरूको गाउँ, विधवाहरूको गाउँ’ समेत भनिन्थ्यो। राज्य र विद्रोही पक्षबाट त्यहाँ ५८ जनाले ज्यान गुमाएका थिए।

करिब २०० घरधुरी रहेको सानो मगर बस्तीमा यति धेरै मानवीय क्षति हुनु नेपालको द्वन्द्व इतिहासकै भयानक घटना हो। २०५६ असोज ५ गते माओवादीद्वारा नेपाल प्रहरीका डिएसपी अपहरण गरिएपछि महत गाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आयो। त्यस समयमा माओवादी छापामारले महत गाउँस्थित प्रहरी चौकीमा आक्रमण गरी तत्कालीन रुकुमका डिएसपी ठुले राईलाई अपहरण गरेका थिए।

सशस्त्र द्वन्द्व सुरु भएयता माओवादीले बहालवाला उच्च प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको त्यो पहिलो घटना थियो। महत चौकी आक्रमणको नेतृत्व माओवादी लडाकु कमान्डर नन्दबहादुर पुनले गरेका थिए। उनी नेपालको दोस्रो उपराष्ट्रपति पनि भए। माओवादीले महत चौकीमा आक्रमण गरेपछि भएको भिडन्तमा ६ प्रहरी र एक सर्वसाधारणको मृत्यु भयो, २७ प्रहरी घाइते भए। डिएसपी राई करिब तीन महिना माओवादीको कब्जामा रहे।

डिएसपी अपहरण र प्रहरी चौकी आक्रमणपछि राज्य पक्षले महत गाउँमा कडा कारबाही र खानतलासी अभियान चलायो। विद्रोहीलाई सघाएको आरोपमा सुरक्षा फौजले गाउँका निर्दाेष सर्वसाधारण, महिला र युवालाई नियन्त्रणमा लिएर हत्या गरेको मानवअधिकारवादी संस्थाहरूका प्रतिवेदनमा उल्लेख छ।

द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबिच भएका भिडन्त तथा सुरक्षा कारबाहीका कारण महत गाउँले ठुलो मानवीय क्षति बेहोर्नुप¥यो। यसक्रममा राज्य पक्षबाट ५२ र माओवादी पक्षबाट ६ गरी ५८ जना मारिएको विवरण छ। त्यसपछि महत गाउँका पुरुषहरू कि मारिए कि विस्थापित भए। गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र बाँकी रहने अवस्था आयो।

विस्तृत शान्ति सम्झौता, २०६३ पछि महत गाउँलाई ‘युद्ध पर्यटन’ गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरिएको छ। महत गाउँमा द्वन्द्वमा ज्यान गुमाएकाहरूको सम्झनामा सहिद स्मारक, युद्ध संग्रहालय र शान्ति पार्क बनाइएका छन्।

युद्ध पर्यटनका लागि महत गाउँमा हेर्न र बुझ्न सकिने धेरै विषय छन्। पछिल्लो समय महत गाउँको सिरानमा माओवादी सेनाका जीवित कमान्डरसहित विभिन्न व्यक्तिका सालिक निर्माण गरिएका छन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी र भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठलगायतका सालिक त्यहाँ राखिएका छन्। सालिक बनेका पुन, रेग्मी र श्रेष्ठ हाल जीवितै छन्।

चर्चित भिडन्त भएको स्थान भएकाले प्रतीकात्मक रूपमा गाउँपालिकाको अघिल्लो कार्यकालको टोलीले युद्ध स्मारक तयार गरेको र त्यहाँ तत्कालीन युद्धका कमान्डरहरूको पनि सालिक बनाएर राखिएको भुमे गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउँछन्। उनी तत्कालीन माओवादी सेनाका दोस्रो प्लाटुन कमान्डर थिए। ‘सालिक देख्दा खासै अनौठो लाग्दैन। यो एउटा प्रतीकात्मक बिम्ब हो,’ श्रेष्ठ भन्छन्।

माओवादीले युद्धका नियम पालना गर्दैनन् भन्ने आरोपलाई ठुले राईको अपहरण र मुक्तिले गलत साबित गरेको उनको भनाइ छ। जीवितै हुँदा आफ्नै सालिक बनेको देख्दा कस्तो लाग्छ भन्ने प्रश्नमा सिस्ने गाउँपालिकाका अध्यक्ष रेग्मी भन्छन्, ‘साँच्चिकै यस्तै सालिक बन्छु भनेर नै युद्धमा होमिएको थिएँ। बाँच्न सफल भएँ र आफ्नै सालिक देख्न पाएको छु।’ उनी हाँस्दै थप्छन्, ‘सालिकभन्दा पनि युद्धका विशेषता झल्काउने बिम्बका रूपमा यसलाई बनाइएको हो।’

उनका अनुसार तत्कालीन कम्युन र सहकारीलाई संग्रहालयका रूपमा विकास गरिएजस्तै युद्धका विशेषता झल्काउने सामग्री पनि संग्रहालयमा राखिएको हो।

प्रकाशित: १० मंसिर २०८३ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App