राजनीति

जनताबाट निर्वाचित राष्ट्रप्रमुख देशको आवश्यकता: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताबाट निर्वाचित राष्ट्रप्रमुख देशको आवस्यकता भएको बताएका छन् ।  उनले संविधान पुनर्लेखन गरि जनताबाट निर्वाचित राष्ट्र प्रमुख व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको जनता समाजवादी पार्टीको एकताको प्रथम मधेस प्रदेश अधिवेशनको समुदघाटन गर्दै अध्यक्ष यादवले भने, ‘जनताबाट निर्वाचित सरकार प्रमुख हुँदा राष्ट्रप्रमुख पुनः तानाशाह हुन सक्छ । जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुँदा सांसद किनबेचको खेल रोकिन्छ । र, देशमा स्थिरता कायम हुन्छ।’

अहिलेको निर्वाचन प्रणाली खिचडी निर्वाचन प्रणाली रहेको जिकिर गर्दै उनले दुनियाँको ७१ देशमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली छ । जहाँ उम्मेदवार र दलले पैसा खर्च गरेर चुनाव लड्न नपर्ने व्यवस्था रहेको उनले बताए ।

बहुदलीय व्यवस्था पछि ३५र३६ वर्ष शासन गरेको कांग्रेस कम्युनिष्टले देशलाई पालैपालो लुटेको उनको आरोप छ । वर्तमान स्थितिको जिम्मेवार यीनै दल भएको आरोप लगाउदै उनले भने, ‘ज्योतिषीलाई देखाई देखाई दुई तीनजना पटक प्रधानमन्त्री भए । सुन काण्ड, ओमिनी काण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डसहितका काण्डै काण्डले युवाको आक्रोस बढदै गएको बेला आक्रोस पोख्ने सामाजिक सञ्जाल पनि बन्द गरिएपछिको आक्रोस विद्रोहमा परिणत भयो ।’

अहिले चुनावको वातावरण नभएको बताउँदै उनले चुनाव गराउन  जनतामा कायम अनिश्चितता, भय र त्रास हटाउनुपर्ने बताए । उनले भने, ‘सरकार र संसद विघटन संविधानको मर्म विपरीत छ । मुलुक अन्योल र अनिश्चिततामा छ । गन्तब्य नै अनिश्चित छ, के हुने हो थाहा छैन ।’

प्रकाशित: २७ आश्विन २०८२ २१:२२ सोमबार