धरानका मेयर हर्क साम्पाङले हालको राजनीतिक परिस्थितिमा कतिपय प्रस्तावित नेतृत्वबारे असहमति जनाएका छन्। सामाजिक सञ्जालमा उनले आफ्नो विचार व्यक्त गर्दै, देशभक्तिपूर्ण दृष्टिकोणबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन्।
साम्पाङले लेखेका छन्, ‘विदेशी शक्तिलाई ढोगेर मात्रै नेपालको प्रधानमन्त्री बन्ने चलन छ रे सुन्दै आएको! तर म यही देशको दाजुभाइ–दिदीबहीनी र युवाहरुको साथले प्रधानमन्त्री बन्न सक्नु पर्छ भन्ने मान्छे! एक थान पदका लागि आफ्नो स्वाभिमान दाउमा राख्दिँन! जय मातृभूमि!’
उनले थपे, ‘विगतमा बारम्बार देखाइने यस्तै परिस्थितिमा तपाईंको बलिदान सम्झौता हुनु हुँदैन। बाहिर निस्केर “म गर्नेछु” भन्ने नेता छान्नुहोस्। नेता इच्छुक हुनुपर्छ, जबरजस्ती, अनुरोध वा सिफारिस गरिएर होइन। देशभक्तिपूर्ण इच्छाशक्तिले मात्र नेपाललाई सुधार गर्न सक्छ।’
साम्पाङले भनेका छन्, ‘बोकेको कुकुरले सिकार गर्दैन! विदेशीको इशारामा बनेको सरकारले राष्ट्रवादी कानुन बनाउँदैन!’ उनले यी बयान अन्तरिम सरकारका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम चर्चामा रहेको बेला दिइरहेका छन्। कार्कीलाई काठमाडौंका मेयर बालेन शाहले खुलेरै समर्थन गरिसकेका छन्।
साम्पाङका अनुसार देशको नेतृत्व चयनमा जनताको समर्थन र स्वाभिमान प्राथमिक हुनुपर्ने छ। उनले आगामी प्रधानमन्त्रीको चयनमा बाह्य दबाबको प्रभाव गर्नु नपर्नेमा जोड दिएका छन्।
प्रकाशित: २६ भाद्र २०८२ ०९:४० बिहीबार