राजनीति

सस्तो लोकप्रियताका लागि गरिने गालीगलौजले देश बन्दैन: गगन

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देश चरम संकटमा रहेको बेला सस्तो लोकप्रियताका लागि गरिने गालीगलौजले मात्र देश नबन्ने बताएका छन्।

आइतबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले एउटा जिम्मेवार नेताको काम उत्तेजना फैलाउने नभई जनताका सपना पूरा गर्न निरन्तर खट्ने हुनुपर्ने बताए।

‘आज हाम्रो देश यति ठूलो अप्ठ्यारोमा छ कि हाम्रा युवाहरू रुस-युक्रेनको युद्धभूमिदेखि मध्यपूर्वको मरुभूमिसम्म पुग्न बाध्य छन्,’ रास्वपा लगायतका नयाँ राजनीतिक दलप्रति इङ्गित गर्दै थापाले भने, ‘यति धेरै ठूलो संकटमा परेको देशलाई सम्हाल्न केवल घृणाको भाषा बोलेर र अरुलाई गाली गरेर मात्र हुँदैन। हामी यसलाई सम्हालेर परिणाममा पुर्‍याउन चाहन्छौं।’

सामाजिक सञ्जालमा अरुलाई गाली गरेर भाइरल हुनु निकै सजिलो भए पनि देश निर्माणका लागि ठोस योजना र टिम चाहिने उनको भनाइ थियो।

थापाले आफूहरू गालीको राजनीतिमा नभई कामको राजनीतिमा विश्वास गर्ने भन्दै ५ वर्षे कार्ययोजना समेत सुनाए। उनले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको प्रमुख उद्योगका रूपमा विकास गर्ने उद्घोष गरे।

‘हामी अबको ५ वर्षभित्र आइटी क्षेत्रलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत योगदान दिने हैसियतमा पुर्‍याउँछौं,’ उनले भने, ‘यस क्षेत्रमा उच्च गुणस्तरको र राम्रो कमाइ हुने कम्तीमा १ लाख नयाँ रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ। यसका लागि हामीले कानुनहरू समेत परिवर्तन गरेर काम सुरु गरिसकेका छौं।’

सोही कार्यक्रममा थापाले काठमाडौं-१० का निवर्तमान सांसद राजन केसीको प्रशंसा गरे। एउटै व्यक्ति पटक-पटक सांसद वा मन्त्री भइरहनु हुँदैन भन्ने भाष्यलाई केसीले यसपटक चुनाव नलडेर व्यवहारमै प्रमाणित गरेको थापाले बताए।

‘एउटा व्यक्तिले कतिपटक अवसर लिने भन्ने बहस चलिरहेका बेला राजन दाइले जे त्याग देखाउनुभयो, यसले नेपाली राजनीतिमा एउटा नयाँ मानक स्थापित गरेको छ,’ थापाले भने।

काठमाडौं क्षेत्र नम्बर-१० का कांग्रेस उम्मेदवार हिमाल कार्कीलाई मतदान गर्न अपिल गर्दै थापाले संसदभित्र आफ्नो सम्पूर्ण टिमले कार्कीलाई शतप्रतिशत साथ दिने प्रतिबद्धता व्यक्त गरे।

उनले बाहिरको कोलाहल र हल्लाको पछि नलागी घर-घर पुगेर कांग्रेसको एजेन्डा बुझाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १६:२९ आइतबार