नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जोखिम मोलेर काम गर्ने पत्रकारहरूलाई सम्मान मात्र पर्याप्त नहुने, उनीहरूले न्याय पनि पाउनुपर्ने बताएका छन्।
उनले पत्रकार सुरेश रजकको प्रसङ्ग उल्लेख गर्दै उनको परिवारले न्याय पाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा बोल्दै मन्त्री खरेलले मन्त्रीको शपथ लिएपछि आफ्नो पहिलो सार्वजनिक कार्यक्रम पत्रकारितासँग सम्बन्धित हुनु अर्थपूर्ण रहेको बताए।
‘म पत्रकारिताकै पृष्ठभूमिबाट आएको हुँ। मन्त्री भएपछि मेरो लागि योभन्दा विशेष पहिलो औपचारिक कार्यक्रम के हुन सक्छ र ?’ उनले भने।
जोखिमपूर्ण पत्रकारिता गर्ने क्रममा ज्यान गुमाएका तथा पीडित बनेका पत्रकारहरूको मुद्दालाई आफूले गम्भीर रूपमा लिएको बताउँदै मन्त्री खरेलले यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्ने सुनाए।
‘म यो कुरा सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीज्यू समक्ष पुर्याउनेछु,’ उनले भने, ‘अहिलेको सरकार सुशासनप्रति प्रतिबद्ध छ र प्रधानमन्त्रीज्यू स्वयं पूर्व प्रधानन्यायाधीश भएकाले न्यायको पक्षमा अडिग हुनुहुन्छ।’
पत्रकारको जीवनलाई मैनबत्तीसँग तुलना गर्दै उनले भने, ‘मैनबत्ती जलिरहन्छ र दुनियाँलाई उज्यालो दिन्छ, तर उसलाई आफ्नो अस्तित्व कहिले सकिन्छ भन्ने थाहै हुँदैन। हामी पत्रकारहरू अरूको अधिकारको माग गर्दागर्दै आफ्नो अधिकार र न्यायबारे बिर्सिरहेका हुन्छौं।’
उनले मन्त्री भएको दुई दिन मात्रै भएकाले ठूला प्रतिबद्धता व्यक्त नगर्ने तर पत्रकारका मुद्दामा गम्भीरतापूर्वक काम गर्ने विश्वास दिलाए।
प्रकाशित: ७ आश्विन २०८२ १८:३३ मंगलबार