राजनीति

समानुपातिकको १ नम्बर छोडेर जनताको बीचमा आएँ: डिना उपाध्याय

नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले समानुपातिक तर्फको १ नम्बरमा भएको आफ्नो नाम हटाउन लगाएर जनताको बीचमा आएको बताएकी छिन्।  

आइतबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘पार्टीका लिडरहरुले समानुपातिकतर्फ १ नम्बरमा बस्नुस् भन्नुभएको थियो। म स्वतः प्राप्त संसद् पद त्यागेर जनताको बीचमा आएको छु, जनतासंगै रहेर काम गर्छु भनेर आएको छु। जनताले मलाई मत दिन्छन् भन्ने मेरो विश्वास छ।’ यसअघि संविधान निर्माणका लागि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेको स्मरण गर्दै उनले अब जनताको बीचमा काम गर्न प्रत्यक्ष निर्वाचनमा होमिएको जानकारी दिइन्। 

देशैभर सत्तारुढ गठबन्धनको पक्षमा माहौल बनेको दावी गर्दै उनले मकवानपुरमा पनि गठबन्धनको जित सुनिश्चित रहेको बताइन्। ‘जित्ने विश्वासका साथ म चुनावी मैदानमा होमिएको छु’, सहमहामन्त्री डिनाले भनिन्, ‘म २०४८ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचन लडेको थिएँ। मकवानपुर जिल्ला नै मेरो भूगोल हो।’ यसअघि मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचन लडेकी डिनाले यसपटक १ बाट टिकट लिएकी हुन्। आफू यहिँ जन्मिएको र मकवानपुरलाई नै कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएको उल्लेख गर्दै उनले आफ्नो भूगोल मकवानपुर जिल्ला नै भएको दावी गरिन्। ‘म देशको राजनीतिमा संलग्न छु, मैले भूगोल भनेर कहिल्यै छुट्याएको छैन, समग्र मकवानपुर जिल्ला नै मेरो भूगोल हो’, उनले भनिन्।

प्रकाशित: २३ आश्विन २०७९ १३:११ आइतबार