राजनीति

ओली–दाहालबीच बालुवाटारमा छलफल

काठमाडौं— आफ्नो नेतृत्वमा सरकार गठनका लागि सार्वजनिक अाह्वान गरेसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा अाेलीसँग छलफल गरेका छन्। एमाले अध्यक्ष समेत रहेका ओलीलाई उनले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय सुनाएका थिए।

पार्टी बैठकबाट नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय सार्वजनिक गरेपछि दाहाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार दाहाल र ओलीबीच एक्लाएक्लै कुराकानी भएको थियो। 'उहाँहरुबीच एक्लाएक्लै छलफल भयो। त्यसको विषयवस्तु पहिला निर्धारण गरिएको थिएन', स्रोतले भन्यो।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार गठनको आह्वान गरेसँगै ७ महिना अघि गठन भएको ओली सरकार धरापमा परेको छ। एमाओवादीले सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै वर्तमान सरकारको विकल्पमा आफ्नो नेतृत्वको सरकारका लागि अाह्वान गरेको हो

सत्ता साझेदार दलको यस्तो अाह्वानलाई एमालेले अात्मघाती भनेर टिप्पणी गरेको छ। 

प्रकाशित: २२ वैशाख २०७३ ०१:०२ बुधबार