राजनीति

राष्ट्रपतिविरुद्ध उपराष्ट्रपतिको टिप्पणीः संविधानको दायरा बाहिर जाने छुट छैन

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नहुने बताएका छन्। उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन्।

'पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो', उपराष्ट्रपति पुनले भनेका छन्, 'संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ।'

सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उनले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहोर्‍याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेपछि सत्ता गठबन्धनले राष्ट्रपतिको विरोध गरिरहेका बेला उपराष्ट्रपतिले पनि वक्तव्यमार्फत् आलोचना गरेका हुन्।

प्रकाशित: ५ आश्विन २०७९ ११:१२ बुधबार

उपराष्ट्रपति नन्दबहादुर पुन